बैंकरले लगानीकर्तालाई ब्याजदर घट्ने आश्वासन दिएपछि सेयर बजार बढेको छ।
अध्यक्ष ज्ञानेन्द्र ढुंगानासहित नेपाल बैंकर्स एसोसिएसनका पदाधिकारीहरु र नेपाल पुँजी बजार लगानीकर्ता संघ तथा इन्भेष्टर फोरमको संयुक्त भेटघाटमा बैंकरले असोजपछि व्याजदर घट्ने आश्वासन दिएका हुन्।
आगामी त्रैमासिक वित्तीय विवरणमा बैंकहरुको आधार व्याजदर घट्ने र त्यसले ऋण लिनेलाई राहत पुग्ने आश्वासन बैंकरले दिएका छन्।
‘आधार व्याजदर घटेसँगै विद्यमान व्याजदर घट्छ भन्ने आश्वासन उहाँहरुले दिनुभयो’ भेटमा सहभागी पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष नवराज सुवेदीले सेतोपाटीसँग भने ‘महँगो व्याजमा बैंकहरुले लिएको धेरै संस्थाहरुको मुद्दती निक्षेप अझै परिपक्व नभएकाले आधार व्याजदर सोचेअनुसार घट्न नसकेको पायौँ।’
यद्यपी असोजपछि बैंकमा आउने निक्षेपले त्यसपछिको आधार ब्याजदर तय गर्ने भएकाले व्याजदरको लाभ ऋणीले नपाउन सक्ने अवस्था समेत रहने बैंकरको भनाइ छ।
‘असोजपछि पुनः क्रेडिट क्रन्चको अवस्था देखिँदै गयो भने व्याजदरको लाभ ऋणीले नपाउन पनि सक्छन्’ सेतोपाटीसितको कुराकानीमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले भने।
विगत दुई वर्षमा दुई पटकसम्म क्रेडिट क्रन्चको अवस्था देखिएकाले यो पुनः दोहोरिन सक्ने उनले बताए। यद्यपी हाल बैंकको आधार व्याजदर घटेको बताउँदै पौड्यालले आगामी त्रैमासिक विवरणमा अझै केही घट्ने जानकारी दिए।
अध्यक्ष सुवेदीका अनुसार व्याजदरका अलवा मार्जिन कारोबारका सम्वन्धमा पनि छलफल भएको छ। मार्जिन कारोबारका लागि बैंकहरु सकारात्मक रहेको उनले जानकारी दिए।
यसैबीच सोमबार बजारको परिसूचक नेप्से करिब १६ अंकले बढेको छ। १५. ९८ अंकले बढेर नेप्से १२०६ अंकमा कायम भएको छ। यस दिन कारोबार रकममा पनि वृद्धि भएको छ। १६९ कम्पनीको ५४ करोड ६० लाख रुपैयाँको सेयर किनबेच भएको छ। बजारको पुँजीकरण १४ खर्ब ३६ अर्ब कायम भएको छ।
यस दिन होटल र अन्यबाहेकका सबै समूह बढेका छन्। होटल २ र अन्य समूह १ अंकमुनि रातो रहे। बैंकिङ १५, विकास बैंक १२, जलविद्युत १९, फाइनान्स ४, निर्जीवन बिमा समूह ९६, उत्पादन ९३, माइक्रोफाइनान्स ३ र जीवन बीमा समूह ७२ अंकले बढेका छन्
यस दिन कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको १० करोडको कारोबार भयो। एनआइसी एसियाको ३ करोड ३६ लाख तथा एनएमबि बैंकको २ करोड ४७ लाखको सेयर किनबेच भयो।
नाफाका आधारमा लक्ष्मी बैंकका लगानीकर्ता अग्रस्थानमा रहे। सो कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो। कावेली विकास बैंकको मूल्य ९. ६ प्रतिशतले बढ्यो।
गुमाउनेमा ङादी पावर कम्पनीका लगानीकर्ता अग्रस्थानमा रहे। सो कम्पनीको मूल्य ८ प्रतिशतले घट्यो।