गत आर्थिक वर्षमा २३ वटा वाणिज्य बैंकहरुले नाफा बढाए। जम्मा ५ बैंकको मात्रै नाफा घटे पनि प्रतिसेयर आम्दानी भने अधिकांशको घटेको छ।
पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्यबाहेक १७ वटा बैंकको प्रतिसेयर आम्दानी घटेको छ भने १० बैंकले मात्रै बढाउन सफल भएका छन्।
बैंकहरुले चुक्ता पुँजी पुर्याउन अघिल्लो आर्थिक वर्ष (२०७३/७४) को नाफाबाट उच्च बोनस तथा हकप्रद जारी गरेकाले धेरै बैंकको प्रतिसेयर आम्दानी खुम्चिएको हो।
अर्कोतर्फ अघिल्लो आवको वार्षिक प्रतिवेदनमा हकप्रद गणना गर्न नसकेका केही बैंकले गत आवको प्रतिवेदनमा गणना गरेपछि प्रतिसेयर आम्दानीमा गिरावट देखिएको हो।
केही बैंकले गत आवको वार्षिक प्रतिवेदनमा चुक्ता पुँजी वृद्धिका लागि जारी गरेको हकप्रद वा बोनस गणना गरेका छैनन्। जसले गर्दा चुक्ता पुँजी ८ अर्ब पुगेको छैन भने प्रतिसेयर आम्दानी सन्तुलित देखिएको छ।
यी बैंकको आगामी वित्तीय विवरणको प्रतिसेयर आम्दानीमा यसको असर देखिनेछ। हकप्रद तथा बोनस दिएपछि सेयर संख्या बढ्न जान्छ, त्यही अनुपातमा आम्दानी नबढ्दा प्रतिसेयर आम्दानीमा ह्रास आउने गर्छ।
खुद आम्दानीमा अग्राधिकार सेयरलाई छुट्याइएको लाभांश घटाएर आउने अंकलाई जारी सेयर संख्याले भाग गरी प्रतिसेयर आम्दानी निकालिन्छ।
इन्भेष्टमेन्ट, नेपाल, कृषि विकास, एनएमबि, प्राइम कमर्सियल, सानिमा, जनता, सेन्चुरी, सिभिल र कुमारी बैंकको प्रतिसेयर आम्दानी बढेको छ।
त्यस्तै नविल, ग्लोबल आइएमई, एभरेष्ट, स्टान्डर्ड चार्टड, एसबिआई, हिमालयन, सिद्धार्थ, एनआइसी एसिया, सिटिजन्स, नेपाल बंगलादेश, सनराइज, लक्ष्मी, माछापुच्छ्रे, बैंक अफ काठमाण्डु, प्रभु, मेगा र एनसिसी बैंकको प्रतिसेयर आम्दानी घटेको छ।
बैंक | प्रतिसेयर आम्दानी गत आव | प्रतिसेयर आम्दानी अघिल्लो आव |
नविल | ५२ रुपैयाँ ६१ | ५८ रुपैयाँ ५४ पैसा |
नेपाल इन्भेष्टमेन्ट | ३८ रुपैयाँ ७० पैसा | ३४ रुपैयाँ २० पैसा |
नेपाल | ४२ रुपैयाँ २७ पैसा | ४० रुपैयाँ ३ पैसा |
कृषि विकास | ३९ रुपैयाँ अग्राधिकार सेयर बाहेक | ३४ रुपैयाँ अग्राधिकार सेयर बाहेक |
ग्लोबल आइएमई | २४ रुपैयाँ २६ पैसा | २५ रुपैयाँ २२ पैसा |
एभरेष्ट | ३१ रुपैयाँ ७० पैसा | ४३ रुपैयाँ ७८ पैसा |
स्टान्डर्ड चार्टड | २५ रुपैयाँ ८८ पैसा | ३४ रुपैयाँ ५० पैसा |
राष्ट्रिय वाणिज्य | - | – |
एसबिआई | २३ रुपैयाँ ३२ पैसा | ३० रुपैयाँ ६२ पैसा |
हिमालयन | ३० रुपैयाँ ५० पैसा | ३३ रुपैयाँ ५३ पैसा |
सिद्धार्थ | २१ रुपैयाँ ९१ पैसा | २९ रुपैयाँ ३९ पैसा |
एनआइसी एसिया | १८ रुपैयाँ ९४ पैसा | २२ रुपैयाँ |
एनएमबि | २८ रुपैयाँ ४ पैसा | २७ रुपैयाँ ६९ पैसा |
प्राइम कमर्सियल | २३ रुपैयाँ ५५ पैसा | २३ रुपैयाँ ४४ पैसा |
सानिमा | २१ रुपैयाँ १७ पैसा | १८ रुपैयाँ ८५ पैसा |
सिटिजन्स | १५ रुपैयाँ ८६ पैसा | १७ रुपैयाँ ४८ पैसा |
नेपाल बंगलादेश | १४ रुपैयाँ | २८ रुपैयाँ |
सनराइज | १६ रुपैयाँ | १६ रुपैयाँ ६६ पैसा |
लक्ष्मी | १५ रुपैयाँ | २५ रुपैयाँ ४३ पैसा |
माछापुच्छ्रे | १५ रुपैयाँ ३१ पैसा | २३ रुपैयाँ ९८ पैसा |
बैंक अफ काठमान्डु | २१ रुपैयाँ ८४ पैसा | २२ रुपैयाँ १ पैसा |
प्रभु | १६ रुपैयाँ २५ पैसा | २९ रुपैयाँ ७८ पैसा |
मेगा | १० रुपैयाँ १८ पैसा | १७ रुपैयाँ २७ पैसा |
जनता | ११ रुपैयाँ ६८ पैसा | ९ रुपैयाँ १८ पैसा |
सेन्चुरी | १० रुपैयाँ ८६ पैसा | ८ रुपैयाँ २ पैसा |
सिभिल | ११ रुपैयाँ २२ पैसा | ६ रुपैयाँ ५२ पैसा |
कुमारी | १३ रुपैयाँ ९८ पैसा | ११ रुपैयाँ ७१ पैसा |
एनसिसी | २२ रुपैयाँ ९१ पैसा | २८ रुपैयाँ ३४ पैसा |
स्रोतः बैंकहरुको आव २०७४/७५ र २०७३/७४ को चौथो त्रैमासिक वित्तीय विवरण