अमेरिकी डलरमा भएको मूल्यवृद्धिको प्रभाव रेमिट्यान्समा परेको छ। डलर बलियो बन्दै गर्दा नेपालमा भित्रिने रेमिट्यान्स एक वर्षमा ८.६ प्रतिशतले बढेको छ।
आर्थिक वर्ष २०७४/७५ मा अघिल्लो आव २०७३/७४ को तुलनामा ८. ६ प्रतिशतले रेमिट्यान्स बढेको छ। जवकि अघिल्लो आवमा जम्मा ४.६ प्रतिशतले मात्रै रेमिट्यान्स बढेको थियो।
राष्ट्र बैंकका अनुसार गत आवमा ७ खर्ब ५५ अर्ब ६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। गत आवमा कामका लागि विदेसिनेको संख्या भने १० प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ।
विदेसिने कामदारको संख्या घट्दा रेमिट्यान्समा वृद्धि देखिनुको एउटा कारण डलर पनि रहेको राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन्। डलरको मूल्यसँगै औपचारिक माध्यमबाट आउने रकम समेत बढेकाले रेमिट्यान्समा प्रभाव परेको उनको भनाइ छ।
‘डलरको मूल्यले प्रभाव परेकै हो, त्यसका अलवा भारत, जापान, कोरिया लगायत देशबाट औपचारिक माध्यममार्फत आउने रकम बढ्दा पनि रेमिट्यान्सको वृद्धिमा प्रभाव देखिएको हो’ सेतोपाटीसित थापाले भने।
नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार ठीक एक वर्षअघि डलरको मूल्य १०२ रुपैयाँको हाराहारीमा थियो। यो बढ्दै गएर हाल ११२ रुपैयाँ आसपासमा पुगेको छ।
अमेरिकी डलरको मूल्य बढ्दा नेपाली कामदारको रोजगारीका प्रमुख गन्तव्य मलेसिया, साउदी, कतार तथा दुबईको मुद्रा समेत महँगो भएको छ।
ठीक एक वर्षअघि साउदीको रियाल बिक्रीदर मूल्य २७ रुपैयाँ ४५ पैसा थियो भने अहिले २९ रुपैयाँ ८७ पैसा छ। एक वर्षअघि बिक्रीदर मूल्य २८ रुपैयाँ २७ पैसा रहेको कतारी रियाल अहिले ३० रुपैयाँ ७७ पैसा पुगेको छ।
सबैभन्दा धेरै मूल्य प्रभाव मलेसिन रिंगेटमा देखिएको छ। एक वर्षअघि मलेसियन रिंगेटको बिक्रीदर मूल्य २४ रुपैयाँ थियो भने अहिले २७ रुपैयाँ ३२ पैसा छ। त्यस्तै दुबई दिरामको बिक्रीदर मूल्य २८ रुपैयाँ रहेकोमा अहिले ३० रुपैयाँ ५० पैसा छ।
मलेसियन रिंगेटको मूल्य सबैभन्दा उच्च दरले महँगिदा गत आर्थिक वर्षमा सबैभन्दा धेरै नेपाली मलेसिया नै पुगेका छन्।
वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार सो वर्ष कामका लागि विदेसिनेमध्ये मलेसियामा मात्रै २९ प्रतिशत अर्थात १ लाख ४ हजार पुगेका छन्। दोस्रोमा रहेको कतारमा १ लाख ३ हजार अर्थात कुल संख्याको २८.८ प्रतिशत पुगेका छन्।