प्रतिनिधिसभाको अर्थ समितिले सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्था स्थापना गर्ने कार्ययोजना एक हप्ता भित्र समितिमा पेश गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ।
समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्था स्थापना गर्ने कार्ययोजना एक हप्ताभित्र समितिमा पेश गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको हो।
समितिले वित्तीय तरलता आउन नदिन नेपाल राष्ट्र बैंकसँग योजना माग गर्ने निर्णय पनि गरेको छ। वित्तीय तरलता आउन नदिने योजना नेपाल राष्ट्र बैंकसँग माग गर्ने निर्णय पनि गरिएको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए।
बैठकमा समितिमा सदस्यहरूले सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाहरूको स्थापना गर्न ढिलाइ नगर्न नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालको ध्यानाकर्षण गराए।
समितिका सदस्य एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले वित्तीय तरलता आउन नदिन आवश्यक योजना बनाउन नेपाल राष्ट्र बैंकलाई सचेत गराए। उनले लगानी बढाउने नेपाल राष्ट्र बैंकको योजना के छ? भनी प्रश्न पनि गरेका थिए।
समितिका अर्का सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाहरूको स्थापना गर्न ढिलाइ नगर्न नेपाल राष्ट्र बैंकलाई आग्रह गरे। पूर्व अर्थमन्त्री समेत रहेका उनले हरेक गाउँलाई आर्थिक गतिविधिको केन्द्र बनाउने गरी नेपाल राष्ट्र बैंकलाई अर्थ मन्त्रालयसँग समन्वय गरेर अघि बढ्न पनि ध्यानाकर्षण गराए।
बैठकमा समितिका सदस्यहरूले दीर्घकालीन लगानी सुनिश्चित हुने गरी आफ्नो कार्ययोजना बनाउन पनि नेपाल राष्ट्र बैंकलाई सुझाव दिएका थिए ।