राष्ट्रियस्तरको विकास बैंक ओम डेभलपमेन्टलाई प्राइम कमर्सियल बैंकले खरिद गर्ने भएपछि लगानीकर्तामा सेयर अनुपातको अन्यौलता बढेको छ। सेयर अनुपात टुंगो लाग्न अझै कम्तीमा १ साता लाग्ने भएको छ।
सम्पत्ति तथा दायित्वको मूल्याङ्कन (डिडिए)बाट सेयरको स्वाप अनुपात कायम हुने र यसका लागि न्यूनतम १ साता तथा अधिकतम १ महिनाको अवधि लाग्ने कम्पनीले जनाएको छ। डिडिएको लागि एसआर एण्ड पाण्डे कम्पनीमार्फत बोलपत्र आह्वान हुनेछ।
दुवै कम्पनीबीच आइतबार एक्वीजिसन सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ। एक होटलमा आयोजित एक कार्यक्रममा प्राइमका तर्फबाट अध्यक्ष उदयमोहन श्रेष्ठ र ओमका तर्फबाट सुशीलकुमार गोशलीले हस्ताक्षर गरे।
सम्झौताअनुसार ओम डेभलपमेन्टको अस्थित्व प्राइम कमर्सियल बैंकमा विलय हुनेछ। दुई कम्पनी एक भइसकेपछि चुक्ता पुँजी १० अर्ब पुग्नेछ।
तीन महिनाभित्र एक्वीजिसन प्रक्रिया पुरा गरी कारोबार थाल्ने बैंकको योजना छ। पोखरालाई केन्द्र बनाएर कारोबार थालेको ओम फाइनान्समा सिटी डेभलपमेन्ट मर्ज भएपछि ओम डेभलपमेन्ट बनेको हो। सो मर्जपछि मनास्लु डेभलपमेन्ट पनि गाभिएको थियो।