लगानीकर्तालाई धेरै नाफा कमाएको वित्तीय विवरण देखाउन कतिपय बैंकहरुले स्प्रेड दरको सीमा नै मिचेका छन्।
नेपाल राष्ट्र बैंकले हालका लागि अधिकतम ५ प्रतिशतभन्दा बढी स्प्रेड दर हुन नहुने सीमा कायम गरेको छ। तर सार्वजनिक चौथो त्रैमासिक वित्तीय विवरणअनुसार धेरै नाफा कमाएका बैंकले नै स्प्रेड दरको सीमा नघाएको पाइन्छ।
पैसा जम्मा गर्नेलाई बैंकले दिने ब्याजदर र ऋणीबाट लिने औसत ब्याजदरको अन्तरलाई नै स्प्रेड दर भनिन्छ। अर्थात बढी स्प्रेड दर हुने बैंकले निक्षेपकर्तालाई औसतमा कम व्याज दिने गरेको र ऋणीबाट बढी व्याज अशुल्ने गरेको जनाउँछ।
राष्ट्र बैंकको सीमा नै नाघेर स्प्रेड दर कायम गर्ने बैंकमा सबैभन्दा धेरै ४ अर्ब ५ करोड नाफा देखाएको नविल बैंक समेत परेको छ। (हेर्नुहोस्– २७ बैंकको नाफा ४८ अर्ब, पाँच बैंक खस्किए)
दोस्रो उच्च नाफा देखाएको र सरकारी स्वामित्व समेत भएको कृषि विकास बैंकको स्प्रेड दर सबैभन्दा उच्च छ। बैंकको स्प्रेड दर ५.४६ प्रतिशत छ। उसले गत आवमा नविलपछि सबैभन्दा धेरै ३ अर्ब ६७ करोड खुद नाफा कमाएको छ।
यो बैंकले स्प्रेड दर कटाएको यो पहिलो घटना होइन। यसअघिका वित्तीय विवरणमा पनि उसको स्प्रेड दर सीमाभन्दा माथि देखिन्छ।
त्यस्तै पटक पटक स्प्रेड दरको सीमा नघाउने अर्को बैंक स्टान्डर्ड चार्टड हो। उसको वित्तीय विवरणअनुसार ५.०६ प्रतिशत स्प्रेड दर देखिन्छ।
यसअघिको त्रैमासिक विवरणमा पनि उसको स्प्रेडदर सीमाभन्दा माथि छ। एनआइसी एसिया बैंकले पनि यो पटक स्प्रेड दरको सीमा नघाएको छ। १ अर्ब १९ करोड खुद नाफा कमाएको यो बैंकको स्प्रेड दर ५.१ प्रतिशत छ।
सबैभन्दा कम नाफा देखाएको सिभिल बैंकको स्प्रेड दर पनि सबैभन्दा कम देखिएको छ।
नेपाल राष्ट्र बैंकले स्प्रेड दर नघाउने बैंकलाई कारबाही हुने भन्दै पटक पटक चेतावनी दिने गरे पनि कारबाही भने हुन सकेको छैन वा कारबाही पछिको सुधार देखिएको छैन।
५ प्रतिशतको स्प्रेड दर समेत बढी भएको भन्दै राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत आगामी असार मसान्तसम्म साढे ४ प्रतिशतको सीमाभित्र झार्न बैंकहरुलाई निर्देशन दिएको छ।
राष्ट्र बैंकले निर्देशन दिने तर बैंकहरुले पालना नगर्ने वा कारबाहीपछि पनि सीमा मिच्ने परिपाटी कायमै रहनुले राष्ट्र बैंकको ‘नियामक’को जिम्मेवारीमाथि प्रश्नचिन्ह उठाएको छ।
हेर्नुहोस् कुन बैंकको स्प्रेड दर कति ?
बैंक | स्प्रेड दर (प्रतिशतमा) |
नविल | ५.०५ |
नेपाल इन्भेष्टमेन्ट | ४. ५९ |
नेपाल | ४.९९ |
कृषि विकास | ५.४६ |
ग्लोबल आइएमई | ४.८६ |
एभरेष्ट | ४.७२ |
स्टान्डर्ड चार्टड | ५.०६ |
एसबिआई | ४.९९ |
हिमालयन | ४. ०९ |
सिद्धार्थ | ४.५८ |
एनआइसी एसिया | ५.१० |
एनएमबि | ४.१४ |
प्राइम कमर्सियल | ४.२३ |
सानिमा | ४.६६ |
सिटिजन्स | ३.८४ |
नेपाल बंगलादेश | ३.६७ |
सनराइज | ४.१५ |
लक्ष्मी | ४.१३ |
माछापुच्छ्रे | ४.७५ |
बैंक अफ काठमान्डु | ४.४३ |
प्रभु | ४.७२ |
मेगा | ३.९१ |
जनता | ४.४१ |
सेन्चुरी | ३.९६ |
सिभिल | २.६५ |
कुमारी | ३.१२ |
एनसिसी | ४.१२ |