नेपाल टेलिकमले गत आर्थिक वर्ष १५ अर्ब ६६ करोड खुद नाफा कमाएको छ। कम्पनीको अपरिष्कृत चौथो त्रैमासिक वित्तीय विवरण अनुसार खुद आम्दानी अघिल्लो वर्षको तुलनामा १.९६ प्रतिशतले बढेको हो।
कुल आम्दानी ४५ अर्ब ५६ करोड पुगेको छ। अघिल्लो आवको तुलनामा सो आम्दानी २.१९ प्रतिशतले बढी हो। कम्पनीको नाफामा आएको वृद्धिले प्रतिसेयर आम्दानी बढेको छ।
यस अवधिसम्म टेलिकमको प्रति सेयर आम्दानी १०४ रुपैयाँ ४५ पैसा पुगेको छ। कम्पनीले यसअघि समयमै वार्षिक साधारणसभा आयोजना गरी लगानीकर्तालाई समयमै लाभांश प्रदान गरेको थियो।
नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषबाट खर्च हुने गरी भूकम्प प्रभावित क्षेत्र मध्ये अति प्रभावित चार जिल्लाका ७४७ स्थानमा ब्रोडव्याण्ड इन्टरनेट सेवा सञ्चालन गर्ने जिम्मेवारी कम्पनीलाई दिइएकोमा तोकिएको समय अगावै सम्पूर्ण स्थानमा सेवा सञ्चालनमा ल्याउन सफल भएको छ।
जेठ मसान्त सम्ममा कम्पनीका टेलिफोन ग्राहक १ करोड ९७ लाख ४७ हजार ४ सय ४५ पुगेको छ। यसैगरी इन्टरनेट ग्राहक १ करोड ६ लाख ५२ हजार ४ सय २९ रहेको छ।
एक वर्षको अवधिमा कम्पनीको ग्राहक टेलिफोनतर्फ २१ लाख ४५ हजार २ सय २३ र इन्टरनेटतर्फ २२ लाख २६ हजार ५ सय ३५ ले बढेको छ।
नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार गत आर्थिक वर्षको सुरुवातमा कम्पनीको बजार हिस्सा ४९ प्रतिशत रहेकोमा गत जेठ महिनामा २ प्रतिशतले बृद्धि भई ५१ प्रतिशत पुर्याउन कम्पनी सफल भएको छ।
यस आवका योजना
नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषबाट वित्तीय सहयोग प्राप्त हुने गरी प्रदेश १,२,३ को मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइवर तथा उच्च क्षमतायुक्त उपकरण बिस्तार गर्नका लागि पाँचवटा बोलपत्र आह्वान भइसकेको टेलिकमले जनाएको छ।
यस अनुसार पाँचथरको चियो भञ्ज्याङ देखि गोर्खा-धादिङको आरुघाटसम्म कुल २ हजार १ सय ७९ किलोमिटर अप्टिकल फाइवर नेटवर्क विस्तार हुने प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन्।
कम्पनीका अनुसार पहाडी जिल्लाका सदरमुकामहरुमा सञ्चालनमा रहेको एडीएसएस आयोजनामार्फत एक हजार किलोमिटर अप्टिकल फाइवर विस्तार कार्य चालु आर्थिक वर्षको प्रथम त्रैमासिक भित्र सम्पन्न हुनेछ।
यसैगरी काठमाडौं-तराई दु्रत मार्गमा नेपाली सेनासँग सहकार्य गरी भूमिगत रुपमा अप्टिकल नेटवर्क विस्तार गर्ने लक्ष्य लिएको छ। साथै प्रदेश १,२,३ बाहेकका क्षेत्रहरुमा समेत कम्पनीले उच्च क्षमतायुक्त ट्रान्समिसन उपकरणहरु जडान गरी पूर्वाधार बिस्तार गर्ने जनाएको छ।
शहरी तथा ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवाको विकास गर्ने उद्देश्य लिई नेपाल सरकारका विभिन्न निकायहरूसँग थप सहकार्य गर्दै सेवाको पहुँच विस्तार गर्ने लक्ष्य कम्पनीले लिएको छ।
जीएसएम मोवाइल सेवामा चालु आर्थिक वर्षमा पोष्टपेडतर्फ ५९ हजार ८ सय ३० लाइन र प्रिपेडतर्फ २५ लाख ५० हजार मोबाइल लाइन बितरण गर्ने लक्ष्य लिइएको प्रवक्ता वैद्यले जानकारी दिइन्।
यस आर्थिक वर्षमा थप बीटीएस जडान गरी सेवा विस्तारको कार्यलाई तिब्रता दिइने, सातै प्रदेशमा फोरजी/एलटिई सेवा बिस्तार गर्न आवश्यक उपकरण जडान तथा नेटवर्क विस्तार गर्ने लक्ष्य कम्पनीले लिएको छ। यसका लागि बोलपत्र आह्वान भइसकेको छ।
यस आर्थिक वर्षमा सीडीएमए प्रविधिका ८१ हजार ६ सय २ लाइन टेलिफोन वितरण गर्ने लक्ष्य कम्पनीको छ।
चालु आर्थिक वर्षमा पीएसटीएन (ल्यान्डलाइन) सेवातर्फ ४२ हजार २ सय ६१ लाइन टेलिफोन वितरण गर्ने लक्ष्य लिइएको छ। यस अनुरुप मुलुकका ग्रामीण तथा शहरोन्मुख क्षेत्रहरुमा आइपी प्रविधिका उपकरणहरुबाट भ्वाइस, डाटा र अन्य सेवाहरु प्रदान गरिनेछ। यस आर्थिक वर्ष भित्र थप एक लाख लाइन आईपी प्रविधिबाट प्रतिस्थापन गरी पीएसटीएन सेवाको कुल जडित क्षमताको करिव ५० प्रतिशत उपकरणहरु (चार लाख ५० हजार लाइन क्षमता) आइपी बेस्ड प्रणालीबाट सञ्चालन हुनेछ।
चालु आबको दोस्रो त्रैमासिक भित्र कम्पनीको ५.२ एम जिएसएम आयोजना अन्तर्गत बाँकी रहेका बिटिएसहरु सञ्चालन गर्ने र सबै प्रदेशहरुमा गरी थप १२० बिटिएस साइटहरू सञ्चालन गर्ने टेलिकमको लक्ष्य छ।
काठमाडौं उपत्यका लगायत मुलुकका मुख्य–मुख्य शहरहरुमा तीन लाख क्षमताको ‘फाइबर टु द होम’ नेटवर्क विस्तार गरी १ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्ने कम्पनीको लक्ष्य छ।
विद्यालय, स्वास्थ्य संस्था र गाउँपालिकामा वाइम्याक्स प्रविधिमार्फत न्युनतम ५ सय १२ केविपिएस क्षमताको ब्रोडब्याण्ड इन्टरनेट सेवाको हट स्पट स्थापना गरी ७७ वटै जिल्ला सदरमुकाम तथा प्रमुख ब्यापारिक केन्द्रहरुमा वाइफाई सेवा सञ्चालनमा ल्याइने कम्पनीले जनाएको छ।
एकद्वार ग्राहक सेवा प्रणालीबाट थप माध्यममार्फत ग्राहकका गुनासाहरु सम्बोधन गरी सेवामा सुधार गर्ने लक्ष्य टेलिकमले लिएको छ। भ्वाइस सेवातर्फ कुल २७ लाख ३३ हजार टेलिफोन लाइन थप वितरण गरी टेलिघनत्व ७० प्रतिशत पुर्याउने तथा डाटा सेवाको घनत्व बढाएर ४५ प्रतिशत पुर्याउने कम्पनीले जनाएको छ।