केही साताअघिसम्म ऋण दिने पैसा नभएर छट्पटाएका बैंकहरुमा अब भने अधिक तरलता देखिन थालेको छ। आर्थिक वर्षको अन्तिममा विकास खर्चको रकम ह्वात्तै भुक्तानी भएपछि बैंकहरुमा पैसा बढेको हो।
नेपाल बैंकर्स एसोसिएसनका अनुसार असारको अन्तिम एक सातामा मात्रै ४७ अर्ब रुपैयाँ वाणिज्य बैंकहरुमा निक्षेप थपिएको छ।
असार २२ गतेसम्म बैंकहरुको कुल संकलित निक्षेप २३ खर्ब ९० अर्ब रहेकोमा २९ गतेसम्म बढेर २४ खर्ब ३७ अर्ब पुगेको छ। एक सातामै १. ९७ प्रतिशतले निक्षेप बढेको एसोसिएसनको तथ्याङ्कले देखाएको छ।
DEPOSIT AND LENDING OF COMMERCIAL BANKS (LAST 5 WEEKS) |
(In Billions) |
Month | Date | Deposit | Lending | | |
LCY | FCY | Total | LCY | FCY | Total |
Ashad | 01/03/2075 | 2274 | 83 | 2357 | 2017 | 52 | 2069 | | |
08/03/2075 | 2286 | 83 | 2369 | 2020 | 52 | 2072 | | |
15/03/2075 | 2296 | 82 | 2377 | 2027 | 53 | 2080 | | |
22/03/2075 | 2309 | 81 | 2390 | 2031 | 54 | 2086 | | |
29/03/2075 | 2355 | 82 | 2437 | 2036 | 55 | 2090 | | |
यसरी निक्षेप बढ्नुमा पुँजीगत खर्चको निकासी हुनु नै प्रमुख कारण रहेको बैंकर्स बताउँछन्। ‘एकै दिन २७ अर्ब रुपैयाँसम्म निकासी भएका कुरा आए, असारमा पुँजीगत खर्च ह्वात्तै भएका कारण बैंकहरुमा निक्षेप बढेको हो’ एक बैंकर्सले भने।
अर्कोतर्फ, अनिवार्य नगद मौज्दात अनुपात (सिआरआर)लाई नयाँ मापदण्डअनुसार व्यवस्थापन गर्दा यस आर्थिक वर्षको सुरुआतमा बैंकहरुमा तरलता अझ बढ्नेछ।
सो अनुपात व्यवस्थापन गर्दा मात्रै ४८ अर्ब रुपैयाँ थपिने भएको छ। यसअघि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वाणिज्य बैंकको सिआरआर ६ बाट र विकास बैंकको ५ बाट घटाएर ४ प्रतिशत कायम गरे पुग्ने व्यवस्था गरेको हो।
अब तीनै वर्गका कम्पनीहरुको सिआरआर ४ प्रतिशत कायम भएको छ। बैंकहरुले साउनको पहिलो हप्ता निक्षेपकर्तालाई व्याज प्रदान गर्दा पनि केही रकम पुँजी थपिनेछ।
यतिबेला बैंहरुमा निक्षेप बढ्दा ऋण प्रवाहमा भने कमी आएको छ। असार २२ गतेसम्म २० खर्ब ८६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले असार २९ सम्म २० खर्ब ९० अर्ब प्रवाह गरेका छन्।
क्लोजिङको समय भएकाले असार अन्तिममा ऋण प्रवाह कम देखिएको बैंकर्स बताउँछन्। अर्कोतर्फ बर्खायामको सिजन भएकाले पनि यतिबेला ऋणको माग तुलनात्मक रुपमा कम हुने गरेको उनीहरुको भनाइ छ।
पुँजीगत खर्चको निकासी र सिआरआरको व्यवस्थापनले बैंकहरुमा पैसा थुप्रिन थालेपछि राष्ट्र बैंकले भने विभिन्न उपकरणमार्फत तान्न थालेको छ। शुक्रबार मात्रै उसले १५ अर्ब रुपैयाँ निक्षेप संकलनका लागि बोलकबोल गरेको छ।
त्यस्तै आइतबार २० अर्ब रुपैयाँ बोलकबोलमार्फत निक्षेप संकलन गर्ने राष्ट्र बैंकले जनाएको छ। बोलकबोलका आधारमा न्यून ब्याजदर लिनेलाई प्राथमिकता दिई राष्ट्र बैंकले निक्षेप उठाउने गर्छ। ३० दिने अवधिको २० अर्ब रुपैयाँ निक्षेप भदौ ५ गते मात्रै बैंकहरुलाई व्याजसहित फिर्ता हुनेछ।
त्यो बाहेक साउन १ गतेदेखि मंगलबारसम्म राष्ट्र बैंकले १७ अर्ब रुपैयाँ बैंकहरुबाट निक्षेप संकलन गरिसकेको छ। राष्ट्र बैंकले बैंकहरुमा लगानीयोग्य रकमको अभाव हुँदा विभिन्न उपकरणमार्फत पठाउने र कम भएका बेला तान्ने गर्दछ।
मितव्ययी रुपमा पुँजीगत खर्च नहुँदा बैंकहरुमा करिब ८ महिना (कात्तिकदेखि जेठसम्म) तरतलता संकुचन तथा ४ महिना (असार देखि असोजसम्म) अधिक तरलताको समस्या देखिँदै आएको छ।