सर्वोच्च अदालतले काममा फर्किन आदेश दिएपनि प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई बुधबार सरकारको निर्देशनमा नेप्से प्रवेश गर्न दिइएन।
अध्यक्ष लक्ष्मण न्यौपानेमार्फत अर्थ मन्त्रालयले उनलाई नेप्सेमा प्रवेश नगर्न भनेपछि साउद बुधबार कार्यालय गएनन्। यसअघि मंगलबार कार्यालय गई हाजिर गरेका उनलाई बुधबार एकाएक रोकियो।
‘अध्यक्षज्यूले माथिबाट हाजिर नगराउन आदेश आएको भन्दै मलाई फोनगरी नआउन भन्नुभयो’ सेतोपाटीसितको कुराकानीमा साउदले भने ‘त्यसकारण म बुधबार गइनँ।’
उनले बिहीबारबाट भने आफू कार्यालय गई जिम्मेवारी सम्हाल्ने अठोट व्यक्त गरे। यस सम्वन्धमा अर्थ मन्त्रालय र नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपानेबीच प्रमुख कार्यकारी अधिकृतको विषयमा छलफल भएको छ।
यसअघि मन्त्रिपरिषद बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारले निर्वाचन आचारसंहिता लागू भएका बेला गरेका राजनीतिक नियुक्तिलाई बदर गर्ने निर्णय गरेको थियो। सो निर्णयपछि साउद बर्खास्त भएका थिए। उनलाई बर्खास्त गरी अर्थका रमेश अर्याललाई जिम्मेवारी दिइएको थियो।
आफूलाई बर्खास्ती गरेपछि साउदले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। अदालतले उनलाई हटाउनुको कारणबारे सरकारसँग जवाफ मागेको छ भने अर्को आदेश नहुन्जेलसम्म काममा फर्किन साउदलाई भनेको छ।
४ वर्षको अवधिका लागि उनी गत असोजमा नियुक्त भएका थिए।