सर्वोच्च अदालतको आदेशपछि महाप्रवन्धक चन्द्रसिंह साउद पुनः नेप्से फर्केर कार्यभार सम्हालेका छन्। आफूलाई बिना कारण हटाइएको भन्दै साउदले यसअघि सर्वोच्चमा मुद्दा दायर गरेका थिए। सर्वोच्चले साउदलाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न भनेपछि उनी पुनः नेप्से फर्किएका हुन्।
यद्यपी उनको नियुक्ति सदर वा बदर के हुन्छ भन्नेमा टुंगो लागेको छैन। साउदलाई हटाउनुको कारणबारे उपस्थित भई जानकारी दिन सर्वोच्चले सरकारलाई आदेश दिएको छ। सरकारी रायपछि मात्रै साउदको नियुक्ति सदर वा बदर हुने भन्ने टुंगो लाग्नेछ।
निर्वाचन आचारसंहिता लागू हुँदा शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने सरकारको निर्णयबमोजिम साउदलाई हटाइएको थियो। उनको स्थानमा अर्थ मन्त्रालयका रमेश अर्यालले जिम्मेवारी सम्हालेका थिए। हाल अर्याल पुनः अर्थ मन्त्रालय फर्किएका छन्।