नविल बैंकले दुर्गम क्षेत्रमा १२ वटा नयाँ शाखा खोलेको छ। डढेलधुराको आलिताल गाउँपालिका, जुम्लाको तिला, सल्यानको दार्मा, बैतडीको पन्चेश्वर, डोटीको सायल, अछामको रामरोशन र तुर्माखाद गाउँपालिकामा नविलका शाखा खुलेका छन्। ति सबै तहमा बिजुलीको सुविधा छैन। बैंकले यी क्षेत्रमा नवीकरणीय उर्जाको प्रयोग हुने जनाएको छ।
त्यस्तै सुर्खेतको बराहताल, बझाङको वित्थडचिर, रुपन्देहीको सम्मरीमाई, कालिकोटको पचालझरना र पतला गाउँपालिकामा बैंकले नयाँ शाखा संचालनमा ल्याएको छ।
बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालले ग्रामीण क्षेत्रहरुमा ‘सक्षम’सँगको सहकार्यमा शाखाहरु संचालनमा ल्याइएको बताउँदै त्यहाँका स्थानीयलाई बैंकको पहुँचमा ल्याउने प्रतिबद्धता जनाए।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले नयाँ शाखाहरुबाट सम्पूर्ण सेवाहरु उपलव्ध हुने बताए। यी सहित नविलका शाखा संख्या ७४ पुगेको उनले जानकारी दिए।
बैंकले सबैमा बैंकिङ पहुँच विस्तार गर्न आफै पनि प्रयास गरिरहेको र त्यसमा सरकारको निर्देशन आएकोले जसरी पनि शाखा खोलिएको शाहले बताए।
‘हामिलाई दुर्गम क्षेत्रमा शाखा खोल्न विजुलीदेखि इन्टरनेटसम्मको समस्या छ त्यसमा सरकारले केही हेरिदिए हुन्थ्यो’ शाहले भने,‘तर पनि हामीले आफ्नै प्रयासमा शाखा खालेका छौं।’
दुर्गम क्षेत्रमा उपचार तथा अन्य सुविधा नभएकोले कर्मचारी जान नमानेपनि बैंक आफैले त्यसको व्यवस्था गरेर पठाएको शाहले बताए। उनका अनुसार दुर्गममा काम गर्ने कर्मचारीहरुलाई मेडीब्याक विमाको सुविधा दिइएको छ।