आगामी साउनदेखि नयाँ सेयर बाँडफाँड हुनेवित्तिकै बजारमा सूचीकृत हुने भएको छ। आइपिओ, एफपिओ तथा हकप्रद सेयर बाँडफाँड भएको लामो समयसम्म बजारमा सूचीकृत नहुने र बेच्न लामो समय कुर्नुपर्ने लगानीकर्ताको गुनासो साउनदेखि हल हुने भएको हो।
धितोपत्रको सूचीकरण तथा कारोवार प्रक्रियालाई थप व्यवस्थित बनाउन धितोपत्र सम्वन्धी ऐन, २०६३ को व्यवस्था वमोजिम बनेको ‘धितोपत्र सूचीकरण तथा कारोवार नियमावली, २०७५’ साउन १ गतेदेखि लागू हुने भएको छ।
जसअनुसार अब कम्पनीहरुले विवरणपत्र स्वीकृत भएको वढीमा ७ दिनभित्र सूचीकरणका लागि सम्बन्धित धितोपत्र बजारमा निवेदन दिनु पर्ने छ। यसअघि ३० दिनको अवधि तोकिएको थियो।
सिआस्बा लागू भएसँगै सार्वजनिक निश्कासन भएको सेयर सात दिनभित्रै बाँडफाँड सम्पन्न हुन थालेको छ। बाँडफाँड भएलगत्तै सूचीकृतको प्रक्रिया अघि बढ्ने भएपछि लगानीकर्ताले सो अर्को एक सातामै किनबेच गर्न पाउने छन्। यसबाट कारोबार समेत बढ्नेछ।