सार्वजनिक मौद्रिक नीतिले बैंकहरुको नाफालाई असर पर्ने भएको छ। मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाहरुको स्प्रेड दर घटाएसँगै आगामी आर्थिक वर्ष बैंकहरुको नाफामा असर पर्ने देखिएको छ।
हाल कायम रहेको ५ प्रतिशतको स्प्रेड दरलाई ० दशमलव ५ प्रतिशत घटाएर ४.५ प्रतिशत कायम गरिएको छ। अब बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपमा दिने औसत व्याज र कर्जाबाट लिने औसत ब्याजदरको अन्तर ४.५ प्रतिशतभन्दा बढी गराउन पाउने छैनन्।
यसबाट बैंकहरुको नाफा खस्किने बैंकर्सको बुझाई छ। ‘स्वभाविक रुपमा त्यसले बैंकको नाफामा असर पर्नेछ, करिब एक दर्जन बैंकको स्प्रेड दर अहिले पनि साढे ४ प्रतिशतभन्दा माथि छ’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले भने।
यद्यपी साढे ४ प्रतिशत मुनि कायम राखेका बैंकहरुको नाफामा भने त्यसले असर नपर्ने उनले बताए। ‘अहिले साढे ४ प्रतिशत मुनि यस्तो दर कायम राखेकालाई ठूलो असर नपर्ला त्योभन्दा बढी हुनेको नाफालाई आगामी आर्थिक वर्षमा असर पर्नेछ’ उनले भने।
व्यवसायमा उल्लेख्य वृद्धि गर्न सकेमा भने असर कम देखिन सक्ने बैंकर्स बताउँछन्।
यद्यपी राष्ट्र बैंकले तोकिएको स्प्रेड दर नघाउँदा हुने कारबाही फितलो देखिएको छ। जसले गर्दा चालु आर्थिक वर्षको चैतसम्मको (तेस्रो त्रैमासिक) वित्तीय विवरणअनुसार तीन वटा वाणिज्य बैंकको स्प्रेड दर ५ प्रतिशतभन्दा माथि देखियो। स्टान्डर्ड चार्टड, एसबिआई र राष्ट्रिय वाणिज्य बैंकको स्प्रेडदर तोकिएको सीमाभन्दा बढी पाइएको हो।
तिमध्ये दुई बैंकको दोस्रो त्रैमासिक अवधिमा पनि स्प्रेडदर ५ प्रतिशतभन्दा बढि थियो। नियामकको कारबाही फितलो भएकै कारण उनीहरुले तेस्रो त्रैमासमा समेत स्प्रेड दर तोकिएभन्दा बढी देखाए।
प्रकाशित मिति: बुधबार, असार २७, २०७५, ०७:२९:००