अब वाणिज्य बैंकहरुले समेत सेयर ब्रोकर लाइसेन्स पाउने भएका छन्। राष्ट्र बैंकले आर्थिक वर्ष २०७५÷७६ को मौद्रिक नीति सार्वजनिक गर्दै वाणिज्य बैंकहरुलाई सेयर कारोबार गर्न बाटो खोलिदिएको हो।
बैंकलाई ब्रोकर लाइसेन्स दिने सम्वन्धमा सुझाव दिन नेप्से, मर्चेन्ट बैंकर, धितोपत्र बोर्डका अधिकारी, लगानीकर्ता प्रतिनिधिको संलग्नतामा एक कार्यदल समेत गठन भएको थियो।
सो कार्यदलले बैंकका सहायक कम्पनीमार्फत सेयर कारोबार गर्न गराउन सकिने सुझाव नेप्से संचालक समितिमा बुझाएको थियो।
कार्यदलले बुझाएको सुझावमा उपत्यकाबाहिर कारोबारका लागि ब्रोकरलाई आरडब्लुएस सेवा विस्तार गर्न दिन सकिने र अन्य थप ब्रोकर कम्पनीलाई पनि लाइसेन्स दिन सकिने सुझाव समेत दिएको थियो। सोही सुझावपश्चात राष्ट्र बैंकले सेयर कारोबारका लागि बाटो खुल्ला गरिदिएको हो।
सेयर दलालहरुले लामो समयदेखि बैंकलाई ब्रोकर लाइसेन्स नदिन दबाब दिँदै आएका थिए। दबाबकै कारण नेपाल स्टक एक्स्चेन्जले बैंकलाई ब्रोकर लाइसेन्स दिने निर्णय गर्न सकेको थिएन्।
नेपाल धितोपत्र बोर्डले यसअघि बैंकलाई ब्रोकर लाइसेन्स दिने सम्वन्धमा तत्काल काम अघि बढाउन नेप्सेलाई निर्देशन दिए पनि अहिलेसम्म नेप्सेले ठोस निर्णय गर्न सकेको छैन।
काठमाडौंको साँघुरो क्षेत्रमा फैलिएको सेयर कारोबारलाई देशव्यापी बनाउन बैंकहरुलाई ब्रोकर लाइसेन्स दिनुपर्ने आवाज सर्वत्र उठीरहेको बेला राष्ट्र बैंकले नयाँ व्यवस्था लागु गरेको हो।