राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा जुटिरहँदा विगत केही दिनयता सेयर बजार सुस्ताएको छ।
बजारको परिसूचकमा न्यून अंकको उतारचढाव देखिएको छ। मौद्रिक नीतिले लिन सक्ने लक्ष्यप्रति लगानीकर्ता पर्खेको देखिन्छ। जसले गर्दा परिसूचक स्थिरजस्तै देखिएको छ भने कारोबार पनि न्यून भएको छ।
बिहीबार एक अंकमुनि हरियो रहेको नेप्से आज आइतबार १. ८९ अंकले मात्रै बढ्यो। परिसूचकको उतारचढाव मात्रै होइन कारोबार रकम पनि बढ्न सकेको छैन। गत बिहीबार १९ करोडको कारोबार भएकोमा आइतबार २० करोड ९३ लाखको कारोबार भयो।
सेयर धितो कर्जामा दिने अधिकतम ऋणको सीमा के हुने भन्ने विषयले लगानीकर्ता यतिबेला मौद्रिक नीतिको प्रतिक्षामा छन्। उनहिरु विगत लामो समयदेखि सेयर धितो कर्जाको सीमा बढाउनुपर्ने माग गर्दै आएका छन्। हाल औसत सेयर मूल्यको ५० प्रतिशत मात्रै ऋण बैंकहरुबाट सेयर धितो राखेर लिन पाइने व्यवस्था छ।
त्यस्तै मौद्रिक नीतिले व्याजदरलाई कता डोहोर्याउँछ भन्ने लगानीकर्ताका लागि चासोको अर्को विषय हो। ब्याजदर बढ्ने संकेत देखेमा बजारमा लगानी नगर्ने र घट्ने संकेत देखेमा लगानी बढाउने रणनीति लगानीकर्ताले लिने गरेको लगानीकर्ता पिताम्बर खरेल बताउँछन्।
‘मौद्रिक नीतिले व्याजदर मात्रै होइन, समग्र वित्तीय सन्तुलन कसरी अवलम्वन गर्छ भन्ने कुराले पनि बजारलाई अर्थ राख्छ’ उनले भने ‘त्यसकारण यतिबेला मौद्रिक नीतिको प्रतिक्षामै लगानीकर्ता देखिन्छन्।’
आइतबारको कारोबारपछि नेप्से १२१९ अंकमा कायम भएको छ। १६७ कम्पनीको साढे ७ लाख कित्ता सेयर किनबेच भयो। बजारको पुँजीकरण १४ खर्ब ४२ अर्ब कायम भएको छ।
नेसनल लाइफ इन्स्योरेन्स संस्थापकतर्फको सबैभन्दा बढी २ करोड रुपैयाँको कारोबार भयो। ओम डेभलपमेन्टको १ करोड बढीको कारोबार भयो। यस दिन आरम्भ माइक्रोफाइनान्सको मूल्य ६ प्रतिशतले बढ्यो। नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले साढे ९ प्रतिशत गुमाए।