एफपिओ बिक्नै छाडेपछि धितोपत्र बोर्डले निर्देशिका संशोधन गरी नयाँ व्यवस्था लागू गरेको छ। धितोपत्र निश्कासन तथा बाँडफाँड निर्देशिकालाई संशोधन गर्दै बोर्डले सार्वजनिक निश्कासनमा आवेदन दिन सक्ने अधिकतम सीमा हटाएको हो।
सार्वजनिक निश्कासनमा एक व्यक्ति वा संस्थाले आवेदन गर्न पाउने अधिकतम कित्ताको सिमा हटाएर निर्देशिका संशोधन गरिएको सहप्रवक्ता निरन्जय घिमिरेले जानकारी दिए।
यसअघि सार्वजनिक निश्कासनमा कुल संख्याको ० दशमलव ५ प्रतिशतसम्म मात्रै एक आवेदकले आवेदन दिन सक्ने व्यवस्था रहेको थियो। सो अधिकतम खारेज गरिएपछि अब निश्कासन कर्ता तथा कम्पनीले नै अधिकतम सीमाको निर्धारण गरी आह्वान गर्न सक्नेछन्।
‘यसबाट ठूलो रकममा आवेदन दिन चाहनेलाई पनि बाटो खुल्ला भएको छ, भने धेरै रकमको आवेदन पर्ने अपेक्षा गरिएको छ’ घिमिरेले भने।
त्यस्तै संस्थागत लगानीकर्ताले प्रिमियम थपेर जारी हुने निश्कासनमा सुरुदेखि नै आवेदन दिन पाउने व्यवस्था गरिएको छ। यसअघि आह्वान पत्रमा तोकिएको चाँडो अवधि सकिएपछि मात्रै संस्थागत लगानीकर्ताले आवेदन दिन सक्ने व्यवस्था थियो।
खासगरी संस्थागत लगानीकर्ताबाट ठूलो मात्रामा आवेदन आउने भएकाले यस्तो निर्णय गरिएको बोर्डले जनाएको छ। नागरिक लगानी कोषसहित निश्कासन तथा बिक्री प्रवन्धकले बोर्डलाई दिएको सुझावअनुसार निर्देशिका संशोधन गरिएको हो।
यो व्यवस्था आजैदेखि लागू भएको घिमिरेले बताए। यो व्यवस्थापछि संस्थागत लगानीकर्ताले बिक्री प्रवन्धकले दिए बमोजिमको संख्यामा एफपिओमा आवेदन दिन पाउने छन्।
एनएमबि बैंकका अलवा नेपाल बैंकलाई पनि यो व्यवस्थाले राहत पुग्नेछ।
एनएमबि बैंकको आधा बढी रकमको एफपिओ बिक्री हुन सकेको छैन भने नेपाल बैंकले एनएमबिको भन्दा बढी संख्यामा एफपिओ जारी गर्दैछ।
दोस्रो बजार निरन्तर ओर्लिएपछि व्यक्तिगत लगानीकर्ताले ठूलो मात्रामा एफपिओ उठाउन चाहेनन्। बजारमै साढे ३ सय रुपैयाँ रहेको एनएमबिको मूल्यलाई एफपिओमा किन्नेले ३३३ रुपैयाँ तिर्नुपर्छ।
यसअघि बुटवल पावरको एफपिओ ५०१ रुपैयाँमा खुलाइएकोमा हाल मूल्य घटेर ४४० रुपैयाँको आसपासमा आएपछि व्यक्तिगत लगानीकर्ताले न्यून संख्यामा मात्रै आवेदन दिँदा एफपिओ समयमै बिक्न नसकेको हो।
नेपाल बैंकले हाल बजारमा ३ सय रुपैयाँमा सेयर कारोबार भइरहेकोमा २८० रुपैयाँ मूल्य कायम गर्दै एफपिओ जारी गर्दैछ। सो मूल्यमा कम्पनीको एफपिओ समयमै पूर्ण रुपमा नबिक्ने निश्चितजस्तै छ। बोर्डको पछिल्लो व्यवस्थाले बैंकलाई पनि सहज हुनेछ। (हेर्नुहोस् : एनएमबिको एफपिओ बिकेन, नेपाल बैंकलाई झनै मुश्किल पर्ने )