निरन्तर सेयर बजार ओरालो लागेपछि थप सार्वजनिक सेयर अर्थात एफपिओ बिक्नै छाडेको छ। हालै एनएमबि बैंकले निश्कासन गरेको एफपिओ व्यक्तिगततर्फ पूर्ण रुपमा बिक्री हुन नसकेपछि सोमबारदेखि संस्थागत लगानीकर्ताका लागि पनि खुला भएको छ।
बैंकले कुल ३ अर्ब ८० करोड रुपैयाँ बराबरको एफपिओ बिक्री गर्नका लागि आह्वान गरे पनि आइतबारसम्म १ अर्ब ८० करोड रुपैयाँको मात्रै आवेदन परेको बिक्री प्रवन्धक नागरिक लगानी कोषले जनाएको छ।
कोषका उपव्यवस्थापक रोशनजंग कार्कीले व्यक्तिगत तर्फ सम्पूर्ण एफपिओका लागि आवेदन नपरेपछि संस्थागत लगानीकर्ताका लागि पनि आवेदन खुला गरिएको जानकारी दिए। यद्यपी व्यक्तिगत लगानीकर्ताले पनि आवेदन दिन पाउने छन्।
यसअघि बुटवल पावर कम्पनीको एफपिओ भरेका लगानीकर्ता यतिबेला घाटामा रहेपछि एनएमबिमा उनीहरु सजग देखिएका हुन्। जसले गर्दा कम्पनीमा पर्याप्त आवेदन नपरेको हो। बुटवल पावर कम्पनीले प्रतिकित्ता ५०१ रुपैयाँमा एफपिओ बिक्री गरेकोमा हाल बजारमा मूल्य झरेर ४ सय ४० रुपैयाँको आसपासमा छ।
एनएमबि बैंकको एफपिओमा तय गरिएको मूल्य ३३३ रुपैयाँमै व्यक्तिगत लगानीकर्ताले माग गरेबमोजिम नै सेयर पाउने अवस्था देखिएपछि बजारमा बेच्नेहरु बढेका छन्। जसले गर्दा बजार मूल्य पनि घटिरहने र एफपिओमा आवेदन दिन खोज्नेहरु पनि बजार मूल्यलाई तुलना गर्ने भएकाले असर देखिएको हो।
गत सोमबार प्रतिकित्ता ३७१ रुपैयाँमा कारोबार भएको कम्पनीको मूल्य आज ३ सय ५० मुनि झरेको छ। सेयर बजार घटिरहने व्याजदर बढाउन बैंकहरु प्रतिस्पर्धामा उत्रिएपछि एफपिओ प्रभावित भएको उपव्यवस्थापक कार्कीले बताए।
‘एफपिओ बिक्न नसक्नुको प्रमुख कारण त घटिरहेको दोस्रो बजार र घट्न नसकेको व्याजदर नै हो’ उनले भने ‘लिलामीमा धेरै सेयर खुलिरहँदा पनि प्रभावित भएको हो।’
माग गरिएअनुसार आवेदन परेपछि सूचना जारी गरी आवेदन बन्द गरिने उनले बताए। ढिलोमा असार २८ गतेसम्म आवेदन दिन सकिनेछ। यद्यपी कोषले आवेदन पूर्ण रुपमा परेपछि बीचमै सूचना जारी गरी बन्द गर्न सक्ने छ।
नेपाल बैंकलाई झनै मुश्किल पर्ने
नेपाल बैंकको एफपिओ बिक्रीका लागि झनै मुश्किल पर्ने भएको छ।
एनएमबिले १ करोड १४ लाख कित्ता मात्रै बिक्रीका लागि आह्वान गर्दा यस्तो हविगत ब्यहोरिरहेका बेला नेपाल बैंकले १ करोड ७६ लाख कित्ता एफपिओका लागि स्वीकृति पाएको छ।
नेपाल बैंकले बेच्ने संख्या धेरै छ भने बजार मूल्य र एफपिओको मूल्य अन्तर निकै कम भइसकेको छ।
बजार मूल्य नै प्रतिकित्ता २९५ रुपैयाँको हाराहारीमा छ। तर कम्पनीले २८० रुपैयाँका दरले एफपिओ जारी गर्दैछ। यदी यही गतिमा कम्पनीको मूल्य घट्दै जाने हो भने निश्कासन हुने दिनसम्म बजार मूल्य नै २८० भन्दा तल नझर्ला भन्न सकिन्न।
जसले गर्दा नेपाल बैंकले सोही मूल्यमा एफपिओ बिकाउन नसक्ने अवस्था सिर्जना भएको छ। अर्कोतर्फ सरकारी स्वामित्व समेत रहेको बैंक विगत तीन वर्षयता मात्रै नाफामा जान थालेको हो। हालको वित्तीय स्थिति सन्तोषजनक देखिएपनि नराम्रो विगतका कारण बैंकप्रति लगानीकर्ता ढुक्क हुन सक्ने अवस्था छैन।