चुनावअघिको सेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबारमा उत्साह


चुनावअघिको सेयर बजारमा लगानीकर्ताको उत्साह बढेको छ। यस दिन बजारको परिसूचक दोहोरो अंकले बढ्यो भने कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखियो।

प्रतिनिधी र प्रदेश सभाको दोस्रो चरणको चुनावअघिको कारोबारमा परिसूचक ११. ६७ अंकले बढेर १५३६ अंकमा पुगेको छ। बजार खुलेदेखि नै उक्लिएको नेप्से अन्तिम समयसम्म कायम रह्यो।

अघिल्लो दिन ५७ करोड रुपैयाँको सेयर कारोबार भएकोमा आज १० करोडभन्दा धेरैले बढेको छ। कुल १६६ कम्पनीको ६७ करोड ९३ लाखको कारोबार भयो।

चुनावपछि राजनीतिक स्थिरता आउने अपेक्षाका कारण सेयर बजार समग्रतामा सकारात्मक भएको छ। ठीक एक महिनाअघि १४८४ अंकमा रहेको नेप्से यस बीचमा ५२ अंकले बढिसकेको छ।

हाल बढेको सेयर मागको चापलाई हेर्दा चुनावपछि पनि बजारको उत्साह कायमै रहने देखिन्छ। यद्यपी बाम गठबन्धनले बहुमत ल्याएमा केही तत्वले नकारात्मक भ्रम फैलाउन सक्नेतर्फ विभिन्न लगानीकर्ता संघहरुले सचेत गराएका छन्।

आजको कारोबारमा व्यापारबाहेकका सबै उपसूचक बढेका छन्। सो उपसूचक २ अंकले घटेको छ। बिमा ६८, बैंकिङ ८, होटल २८, विकास बैंक २३, जलविद्युत ३२, फाइनान्स ७, माइक्रोफाइनान्स २४ र अन्य समूह १ अंकले बढे।

शिखर इन्स्योरेन्स कारोबारका आधारमा अग्रस्थानमा रह्यो। कम्पनीले यसअघि घोषणा गरेको २९ प्रतिशत बोनस प्राप्त गर्नका लागि आज किन्नुपर्ने अन्तिम दिन भएकाले कारोबार उच्च हुन गएको हो। उसको ६ करोड ४० लाखको कारोबार भयो भने दोस्रोमा रहेको नेपाल टेलिकमको ३ करोड ५९ लाखको कारोबार भयो।

छ्याङ्दी हाइड्रोका लगानीकर्ताले ७ प्रतिशत नाफा कमाए। सिनर्जी पावरका लगानीकर्ताले ६ तथा रिलायन्स फाइनान्सका लगानीकर्ताले ५ प्रतिशत नाफा कमाए।

सबैभन्दा बढी गुमाउने हिमालय पावर पार्टनरको सेयर मूल्य २.३ प्रतिशतले घट्यो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.