एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले ट्याब्लेट बैकिङ कारोवार शुरुवात गरेको छ।
ग्राहक र कर्मचारीहरुलाई छिटो छरितो रुपमा केन्द्र बैठक संचालन गर्नको लागि आधुनिक प्रविधिको उपयोग गर्दै जाने क्रममा संस्थाले आफ्नो पाँचौ वार्षिक साधारण सभाबाट ट्याब्लेट बैंकिङ सेवाको सुरूवात गरेको हो।
पोखरामा सम्पन्न कम्पनीको साधारणसभाले आ.व.२०७३/०७४ को मुनाफावाट आफ्ना शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि चौध लाख बयासी हजार आठ सय पन्चानब्बे रुपैया नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवम् एनएमबि बैंकका नायब महाप्रबन्धक प्रदिप प्रधानले वित्तीय संस्था १० जिल्लाबाट हाल राष्ट्रिय स्तरको वित्तीय संस्थामा स्तरोन्नती भई ६७ वटा शाखा संचालनमा आएकोमा खुशी ब्यक्त गर्दै एनएमबि बैंक र एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था एक आपसमा साझेदार गर्दै अगाडी वढ्न प्रतिवद्धता ब्यक्त गरे ।
एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले स्वागत मन्तब्यको क्रममा एनएमबि बैंक, एनएमबि माइक्रोफाइनान्स र एनएमबि क्यापिटलले एक आपसमा मिलेर आधुनिक प्रबिधिको भरपुर उपयोग गरी आन्तरिक नियन्त्रण प्रणालीलाई मजवुद वनाउदै अगाडी वढ्नुपर्ने आवश्यकता भएको कुरा ब्यक्त गरे ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको आ.व. २०७३/०७४ को वार्षिक प्रतिवेदन पारित गरेको छ । यस पाँचौ वार्षिक साधरणसभाले पारित गरेपश्चात वित्तीय संस्थाको चुक्ता पूँजी ११ करोड २७ लाखबाट वृद्धि भई १४ करोड आठ लाख पचहत्तर हजार पुगेको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको २०७४ आषाढ मसान्तसम्मको वासलात, आ.व. २०७३/०७४ को नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण, लेखापरीक्षक नियुक्ति, प्रबन्धपत्र विनियमावलीमा आवश्यक संसोधन गर्ने, संचालक समितिको बैठक भत्ता वृद्धि गर्ने प्रस्ताव पारित गर्नुको साथै ब्यक्तिगत समूहबाट प्रतिनिधित्व गर्ने एकजना प्रतिनिधिको समेत नियुक्ति भएको छ ।
कार्यक्रममा आर्थिक वर्ष २०७३/०७४ को वार्षिक कार्यसम्पादन मुल्यांकनको आधारमा साहसी फिल्ड कर्मचारीको अवार्ड बेत्रावती शाखामा कार्यरत जुनियर फिल्ड अफिसर श्री प्रदिप के.सी., उत्कृष्ट फिल्ड कर्मचारीको अवार्ड मनकामना शाखामा कार्यरत जुनियर फिल्ड अफिसर श्री बासुदेव मरहट्ठा, उत्कृष्ठ शाखा प्रमुखको अवार्ड तत्कालीन सल्लेरी शाखाका शाखा प्रमुख श्री लंक बहादुर बमलाई घोषित गरी प्रमुख अतिथि र वित्तीय संस्थाको अध्यक्ष श्री उत्तम भ्लोन लामाले संयुक्त रुपमा नगद सहित प्रमाणपत्र प्रदान गरे ।
पोखरा लेखनाथ महानगरपालिका वडा नं. २९ हेम्जामा केन्द्रीय कार्यालय रहेको यस माइक्रोफाइनान्सले हाल देशका ३८ वटा जिल्लाहरुमा ६७ वटा शाखा कार्यालयहरु स्थापना गरी २०७४ कात्तिक मसान्तसम्ममा ६४,१५२ जना महिला सदस्यहरुलाई प्रत्यक्ष रुपमा लघुवित्तीय सेवा प्रदान गर्दै आएको छ । यस वित्तीय संस्थाको हाल करीव रु २ अर्व ७४ लाख कर्जा लगानी र निक्षेप करीव रु ४८ करोड रहेको जनाएको छ ।
एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजोले स्वागत मन्तब्यका क्रममा वित्तीय संस्थाले ग्रामीण भेगको दुरदराजमा गई कार्य गरिरहेको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिने साथै लघुवित्तमा हाल विभिन्न चुनौतीहरु रहेको कुरा ब्यक्त गरे।
त्यसलाई समाधान गर्न विभिन्न रणनीतिहरु तर्जुमा गरी प्रविधि, श्रोत तथा साधनहरु जुटाई दिगो लघुवित्त संस्थाको रुपमा अगाडी वढ्ने तथा एनएमबि बैंकको सहकार्यमा यस लघुवित्त संस्थालाई छुट्टै पहिचान र उचाई प्राप्त हुने कुरामा विश्वस्त रहेको विचार ब्यक्त गरे ।