वन्यजन्तुले अन्नबाली र तरकारी नष्ट पारेपछि कागती खेती सुरू


अन्नबाली र तरकारी खेती लगाएर उत्पादन जति सबै वन्यजन्तुले नष्ट गर्न थालेपछि मस्याम पाल्पाकी गोमा भण्डारीले अहिले व्यावसायिकरूपले कागती खेती सुरू गरेकी छन्।

वर्षैपिच्छे बारीमा लगाएको तरकारी, अन्नबाली उत्पादन हुन थालेपछि वन्यजन्तुले सखापै पारिदिँदा मनमा सधैँ पीडा बोकेर बसेकी भण्डारीले अहिले कागती खेती सुरू गरेपछि अहिले उनी वन्यजन्तुको तनावबाट मुक्त हुनाका साथै राम्रो आम्दानी पनि गर्न थालेकी छन्।

भण्डारीले आजभन्दा चार वर्ष पहिले १० बोट कागतीबाट व्यवसाय सुरू गरेकी हुन्। वर्षैपिच्छे व्यवसाय बढाउँदै गएपछि अहिले उनले बारीमा चार सय बोट कागती लगाएकी र यसलाई बढाएर पाँच सय बोट पुर्‍याउने लक्ष्य लिएकी छन् । भण्डारीले १५० बोट कागतीबाट झण्डै एक लाख ५० हजार रुपैयाँ बराबरको आम्दानी गरेको बताईन्। घरबाटै प्रतिकेजी सयमा धमाधम कागती विक्री भइरहँदा उनी आफैँ  व्यवसायमा दङ्ग परेकी छन्। सबैबोट उत्पादनशील भएपछि वार्षिक २० लाख रुपैयाँसम्म आम्दानी लिन सकिने उनको भनाइ छ ।

‘विगतमा बारीभरि नै तरकारी, अन्नबाली, गेडागुडी लगायो, एक पाथी पनि स्याहार्नै पाइँदैनथ्यो, सबै बाँदर, दुम्सी, खरायो, मृगले खाएर सताउँथ्यो’, उनले भनिन्,‘बालीनाली लगाएपछि दिनरात बारीमै कुरेर बस्नुपथ्र्यो, अहिले कागती लगाएपछि वन्यजन्तुको डर पनि छैन आम्दानी पनि भइराखेको छ।’

उनी मात्रै होइन गाउँका झण्डै २० कृषकले व्यावसायिकरूपमा कागती खेती सुरू गरेका छन् । कागतीको बजार मूल्य राम्रो भएपछि यहाँका कृषकले व्यावसायिकरूपमा कागती खेती सुरू गरेका हुन् ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.