त्यो मरूभूमिको हराभरा, जसले खेम पौडेललाई किसानी भाइ बनायो


सन् २०१० मा रोजगारीको क्रममा कतार पुगेका खेम पौडेलले बालुवा नै बालुवा भएको ठाउँमा कलकलाउँदो हरियाली, तरकारी फलफूलको उत्पादन देखे। त्यो देखेर उनको मनमा प्रश्न उब्जियो, माटो, पानी  मल केही पनि नभएको ठाउँमा यस्तो उत्पादन तर सबै भएको हाम्रो देशमा भने किन विदेशबाट किन्नुपर्ने? र यही प्रश्नले उनलाई जीवनको नयाँ अध्यायनमा ल्यायो।  त्यसैले त उनी खेम पौडेलबाट किसानी भाई बने।

भारत तथा कतारजस्ता देशमा काम गरेको पौडेललाई कतारमा उब्जेको त्यही प्रश्नले उत्शुकता जन्मायो र उनले आफूले सक्नेजति अध्ययन गरे, आफैसँग प्रश्न गरे, आफैं जवाफ दिए। काम गर्नेजति सबै विदेशमा अनि केही दशक पहिले खाद्यन्न निर्यात गर्ने देश अहिले आयातको भारले थिचिँदै गएको छ। पौडेलले यी र यस्तै तर्कनाका बीच एउटा निर्णय  गरे, ‘म आफैं उत्पादनमा लाग्छु।’

पोखराको  छिनेडाँडामा आधुनिक प्रविधिको प्रयोग गरी तरकारी खेती थालेका पौडेलले सुरुमा चार लाख रुपैयाँ लगानी गरेका थिए र हाल त्यो सात लाख पुगेको छ। हाल ६ रोपनी जग्गामा टनेल प्रविधिमा उनले तरकारी उत्पादन गरिरहेका छन्।

टमाटर, सिमी, बन्दा, काउली, ब्रोकाउली, रायो, चाएसनव साग, गाजर, मुला, पालुंगो, चम्सुर, केराउजस्ता मौसमी तथा वेमौसमी तरकारी उत्पादन गरिरहेका छन्। पोखरा बजारको कुनै कमि नभएको पोखरामा पौडेल आफ्नो फार्म विस्तार गर्ने सोचमा छन्।

वर्षमा पाँचदेखि सात लाख रुपैयाँ आम्दानी गर्ने पौडेल आफूले अंगालेको पेसालाई मायामात्र होइन गर्व पनि गर्छन्। परिवारको साथमा बसेर, मिठो खाएर, गाउँघरमै बसेर सन्तोषजनक आम्दानी उनको सन्तुष्टिको कारक बनेको छ।

खेतीमा नयाँ प्रविधिको प्रयोग गर्ने हो भने केही वर्षभित्रै नेपाल आत्मनिर्भर बन्नसक्ने विचार राख्ने पौडेल सरकारी नियमन तथा सहयोग भने अनिवार्य देख्छन्। सरकारले कुनै पनि सहयोग नगरे पनि कृषि क्षेत्रका ठेकेदारहरुलाई मात्र नियन्त्रण गरिदिने हो भने अहिलेको भन्दा पचास प्रतिशत उत्पादन एक वर्षमै बढाउन सकिने उनको धारणा छ। पौडेलले रोग किरा नियन्त्रणको लागि आइपिएम प्रविधि अपनाएको बताउँछन्। त्यस्तै झोल मल तथा अन्य उन्नत प्रविधिको प्रयोगबाट आफ्नो उत्पादन बढाइरहेको उनको भनाइ छ।

‘व्यक्तिगत रूपमा मेरोमात्र होइन, सरकारी सुविधादेखि बजारको पहुँचसम्मको कुरामा सामन्य किसान पाखा पारिएका छन्’ उनले भने,‘पाउने सुविधा पनि विचौलियाले नै पाउँछन् अनि त कृषिमा आकर्षण बढ्न सकेको छैन।’

आफ्नै मेहनत र लगानीमा व्यवसायिक कृषि गरिरहेका पौडेलजस्ता धेरै किसानहरुले सरकारले दिने भनेर घोषणा गरिएका अनुदान, सहुलियत भने नपाएको गुनासो गर्छन्। सरकारको तर्फबाट आएका कुनै पनि त्यस्ता सहयोग, अनुदान नपाएको पौडेलको भनाइ छ।

‘सरकारले वर्षेनी ठूलो रकम अनुदान र सहुलियतको नाममा घोषणा गर्छ भन्ने सुन्छौं तर हामी र अझ साना किसानहरुले त झन पाउँदै पाउँदैनन्’ उनले भने,‘बिचौलियाहरुले नै त्यो लिन्छन् जो उत्पादनमा हुँदैनन्।’

सरकारी कर्मचारीकै मिलेमतोमा साना किसानहरुलाई जानकारी नै नदिइ ठूला ठेकेदारहरुबीच बाँडीचुँडी हुने त्यस्तो सहुलियत वास्तविक किसानकोमा पुग्नुपर्ने उनको भनाइ छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.