राजन आले मगर अचेल माडी–८ अयोध्यापुरीस्थित घर नजिकै तरकारी खेतीमा व्यस्त छन्।
२ बिघा जमिनमा रहेको उनको फार्मको दुइटा प्लटमा अहिले भाण्टा र टमाटर फलिरहेका छन्। अर्कोतिर बन्दाका बिरूवा हुर्किरहेका छन्। उनी नयाँ बिरूवाको गोडमेल र फलेका तरकारीको बिक्रीमा तल्लीन छन्।
तीन वर्षअघि सुरू गरेको तरकारी खेतीले राजनको परिवार पालिरहेको छ। यो खेतीबाट भएको आम्दानीको केही हिस्सा बचत पनि गरेका छन् उनले।
चितवन राष्ट्रिय निकुञ्जको अयोध्यापुरी मध्यवर्ती वनको आडैमा रहेको यो जमिनमा यसरी तरकारी खेती गर्न सम्भव होला भन्ने कल्पना केही वर्षअघिसम्म राजन स्वयंले गरेका थिएनन्।
वन्यजन्तुले घर छेउको थोरै जमिनमा लगाएको तरकारी पनि बाँकी राख्थेनन्। कहिले गैंडा, कहिले बँदेल आएर अन्नबाली सखाप पारिदिन्थे। कहिलेकाहीँ मान्छे नै जनावरको निसानामा पर्थे।
वन र बस्तीको बीचमा तारबार गरिएपछि गाउँ वन्यजन्तुबाट सुरक्षित बनिरहेको छ। गाउँलेले निर्धक्क खेतीपाती गर्न थालेका छन्।
‘साँझसम्म ठीकै छ भनेर सुत्यो, बिहान उठ्दा बारी नाङ्गै हुन्थ्यो। मेहनत गरेर लगाएको बाली वन्यजन्तुले सखाप पार्थे,’ ३० वर्षीय राजनले भने, ‘यो ठाउँमा तरकारी फलाएर, बिक्री गरेर आम्दानी गर्न सकिएला जस्तै लाग्थेन।’
गाउँमा कुनै सम्भावना नदेखेर उनी सानै उमेरमा सहर पसेका थिए।
राजनले काठमाडौं, पोखरा र सौराहामा होटलहरूमा काम गरे। सामान्य कामबाट सुरू गरेका उनी चाइनिज खाना बनाउने कुक बने। जोडेको रकम लगानी गरेर रोजगारीका लागि मलेसिया पनि पुगे। तर उनलाई मलेसिया फापेन। सोचेजस्तो काम नपाएपछि उनले एक वर्षमै फर्किएर फेरि होटलकै काम सुरु गरेका थिए।
२०७६ सालको सुरूतिर उनले सौराहामा एउटा रेष्टुरेन्ट भाडामा लिएर चाइनिज रेष्टुरेन्ट सञ्चालन गर्न थले। रेष्टुरेन्ट ठिकठाक चल्दै थियो कोभिड–१९ को महामारी सुरु भइहाल्यो। लकडाउनमा उनले भाडा बुझाउन पनि सकेनन्। अन्तिम विकल्प गाउँमात्रै थियो। उनी घर फर्किए।
गाउँको माहोल बिस्तारै फेरिँदै थियो। वन्यजन्तुले दुःख दिएर हैरान गाउँलेहरूले सरोकारवाला निकायहरू चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती वन समिति, नगरपालिका, वडा, संरक्षणमा काम गर्ने डब्लुडब्लुएफलगायतका संस्थाहरुसँग हारगुहार गरेर गाउँलाई सुरक्षित बनाइरहेका थिए।
‘तरकारी खेती गर्न भनेर स्थानीय युवाहरुको अयोध्यापुरी युवा कृषक समूहमार्फत दश वर्षका लागि जमिन भाडामा लिइयो। तर युवाहरु एक ठाउँमा बसेर काम सम्भव भएन। पछि म आफैंले तरकारी खेतीको तालिम लिएर त्यो जमिनमा व्यक्तिगतरुपमा खेती गर्न थालें,’ राजनले भने, ‘अहिले खेती राम्रो भइरहेको छ। वन्यजन्तु आक्कल–झुक्कल त आइपुग्छन्। तर पहिलेजसरी दुःख पाएका छैनौं।’
उनको तरकारी खेतीमा डब्लुडब्लुएफ र अयोध्यापुरी मध्यवर्ती सामुदायिक वनले कृषि औजारहरु सहयोग गरेका छन्। माडी नगरपालिकाले प्राविधिक सहयोग गर्ने गरेको छ। सुरुमा टनेल बनाउन प्लास्टिक, बाँस, मल, बीउमा करिब तीन लाख रुपैयाँ लगानी गरेका थिए। तीन वर्षको अवधिमा आम्दानी भएको रकम पनि खेतीमै थपिरहेका छन् उनले।
‘म आफू दिनभर यसैमा खट्छु। अति आवश्यक पर्दामात्रै दिनगन्तीमा खेताला खोज्ने हो। मेरो ५ जनाको परिवार यही खेतीले चलिरहेको छ। महिनाको ३०–४० हजार रुपैयाँ बचाइरहेको छु,’ राजनले भने, ‘होटलहरूमा काम गर्दा चाहिँदा बिदा नपाइने, परिवारसँग समय बिताउन पनि नपाउने हुन्थ्यो। अहिले त्यो समस्या छैन। परिवारसँग बसेर खान पाइएको छ। अब खेतीलाई बिस्तार गर्दै जान्छु।’
उनले सकेसम्म बेसिजनका तरकारी उत्पादन गरेर बिक्री गर्ने योजना बनाएका छन्। बेसिजनको टमाटर, काँक्रो, घिरौंला, करेला, बन्दाबाट राम्रो आम्दानी हुने गरेको उनले बताए।
अयोध्यापुरी मध्यवर्ती सामुदायिक वनका अध्यक्ष शिवजी गायक समुदाय र निकुञ्जबीचको द्वन्द्व कम गर्न वन्यजन्तुबाट प्रभावित क्षेत्रमा किसानको जीवनस्तर र आयआर्जनमा सुधार गर्ने कार्यक्रम सञ्चालन गरिएको बताउँछन्। अयोध्यापुरी वनको क्षेत्रमामात्रै ५० जना किसानलाई सहयोग गरिएको उनले बताए।
‘तरकारी, मेवा, फलफूल खेती, सिलाइ–कटाइ, मूर्ति बनाउने, इलेक्ट्रिसियन तालिम, बंगुर, गाई, बाख्रा पालन गर्न, उत्पादनहरुलाई बजारसम्म लैजान, गाउँ–गाउँमा पु¥याएर बिक्री वितरण गर्न अटो रिक्सा खरिदमा सहयोग गरिएको छ,’ गायकले भने, ‘यी कार्यक्रमहरुमा निकुञ्ज, मध्यवर्ती वन, डब्लुडब्लुएफलगायतका निकायले सहयोग गरिरहेका छन्।’ उक्त क्षेत्रमा १२७ वटा सुरक्षित बाख्राका खोरहरू निर्माण गरिएको जानकारी उनले दिए।
‘हामीले स्थानीय बासिन्दाले गरिरहेको पेशा, व्यवसायमा हौसला थप्ने प्रयास गरेका छौं। यसमार्फत उहाँहरुले प्रगति पनि गरिरहनुभएको छ,’ अध्यक्ष गायकले भने, ‘स्थानीय बासिन्दाको आयआर्जनमा सुधार हुँदा वन्यजन्तुसँगको द्वन्द्व पनि घट्दै गएको अनुभव गरेका छौं।’