पाल्पामा धान उत्पादन बढ्यो


जिल्लामा धान उत्पादनमा वृद्धि भएको छ।

उन्नत जातको धान खेतीप्रति आकर्षित हुनु, समयमै खेती हुनु, मलखादको पर्याप्त सुविधा हुनु, रोग नलाग्दा धान उत्पादनमा वृद्धि भएको हो।

गत वर्षभन्दा यस वर्ष दुई हजार मेट्रिक टन बढी धान उत्पादन भएको छ । गत वर्ष जिल्लामा ३३ हजार ८९६ मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष ३५ हजार ८८ मेट्रिक टन धान उत्पादन भएको वरिष्ठ कृषि विकास अधिकृत किशोरमान श्रेष्ठले जानकारी दिए।

हरेक वर्ष जिल्ला कृषि विकास कार्यालयले उन्नत जातको धानको बीउ वितरण गर्दै आएको छ । पछिल्लो समयमा पाल्पाका विभिन्न खेतीयोग्य भू–भागमा स्थानीय जातको धानभन्दा उन्नत र हाइब्रिड जातको धान लगाउने क्रम बढेको छ । माडी, रामपुर, अर्गली, हुँगी, कचल, झडेवा, सत्यवती, गल्धा, पूर्वखोला, रिङ्नेरहजस्ता क्षेत्रमा धानबालीको खेती गरिँदै आएको छ ।रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.