आन्तरिक राजस्व विभागद्वारा बजार अनुगमनलाई तीव्रता

४ दिनमा ३०२ करदाता कारबाहीमा


आन्तरिक राजस्व विभागले आफू अन्तर्गतका कार्यालयहरूमार्फत बजार अनुगमनलाई तीव्रता दिएको छ ।

विभाग अन्तरगतका ३६ वटा कार्यालयबाट भदौ २७ गतेदेखि सुरू भएको बजार अनुगमनमा प्रत्येक कार्यालयबाट ३-३ वटा टोली परिचालन गरिएको विभागले जनाएको छ ।

बजार अनुगमन विभागको नियमित कार्य भएको जनाउँदै दशैं, तिहार जस्तो चाडवाडको समयमा बढी कारोबार हुने र सो क्रममा विल विजक जारी नहुने गुनासो धेरैतिरबाट आउने भएकोले गत वर्ष जस्तै यस वर्ष पनि बजार अनुगमनलाई तिव्रता दिइएको जनाएको हो ।

भदौ २७ गतेका दिन मात्र ८४ वटा अनुगमन टोलीले ३८५ जना करदाताको अनुगमन गरी ४० जना करदाताहरूलाई कारोबार स्थलमै तत्काल कानूनी कारवाही गरिएको विभागले बताएको छ । त्यसैगरी, भदौ २८ गतेका दिन ५३ वटा टोलीले ५६६ जना करदाताको कारोबारस्थल आकस्मिक रुपमा अनुगमन गरेकोमा ११० जना करदाताहरूले कर कानून परिपालना नगरेको पाइएको हुँदा ११० करदातालाई प्रचलित कर कानून बमोजिम जरिवाना गरेको विभागले जनाएको छ ।

भदौ २९ गते ५२ वटा अनुगमन टोलीले ५५३ जना  करदाताको अनुगमन गरेकोमा ८३ जना करदाताहरुलाई प्रचलित कानून बमोजिम जरीवाना गरेको जनाएको छ । त्यस्तै, भदौ ३० गते ४५ वटा टोलीले ४४७ जना  करदाताको अनुगमन गरेर ६९ करदातालाई कारवाही गरेको  छ ।

विगत चार दिनमा २३४ टोलीबाट १९५१ जना करदाताको अनुगमन गरी कर कानून पालना नगर्ने ३०२ करदातालाई जरिवाना तथा अन्य कानूनी कारवाही गरेको विभागले जानकारी दिएको छ ।

अनुगमनका क्रममा अन्तःशुल्क स्टीकर नलगाइएका गुट्खा तथा इजाजत नलिई कारोबार  गरेको मदिरा र अन्तःशुल्क स्टीकरको प्रयोग नभएको मदिरा बरामद गरेको छ ।

अनुगमन टोलीले नक्कली स्टीकरको प्रयोग, अवैध मदिराको प्रयोग, करपाटी नराख्ने, विवरणहरू पेश नगर्ने, खाता अद्यावधिक नगरिएको, दर्ता नगरी कारोबार गरेको, घरबहाल कर दाखिला नगरेको, विल विजकको प्रयोग नगरिएको जस्ता क्रियाकलाप गरेको फेला पारेकोले कानूनी कारबाही गरेको हो ।

अनुगमनका क्रममा कर अधिकृत नेतृत्वको टोलीले व्यवसायीहरूलाई कार्यस्थलमा नै करदाता शिक्षा प्रदान गर्नुका साथै कर कानूनको पालना गर्न सुझाव समेत दिएको छ ।

कर अधिकृतको नेतृत्वमा खटिएको टोलीले कारबाहीमा परेका र थप शंकास्पद देखिएका करदाताहरुलाई थप अनुसन्धानका लागि खरीद विक्री खाता नियन्त्रणमा लिएर कार्यालयमा उपस्थित हुन पत्राचार समेत गरेको विभागले जनाएको छ ।

आन्तरिक राजस्व विभागले बजारमा विलविजक जारी नगर्ने करदाताको व्यवहारमा सुधार नभएमा अझ कडा रुपमा प्रस्तुत हुने चेतावनी दिनुका साथै बजार अनुगमनलाई वर्षैभरी निरन्तरता दिने जनाएको छ ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.