कृषि उत्पादनमा मूल्य शृङ्खलाको विकासमार्फत बजार पहुँच तथा मूल्य अभिवृद्धि गर्ने उद्देश्यले जिल्लाका १०३ वटा परियोजनालाई ४० करोड ३० लाख ४४ हजार रुपैयाँ सहयोग उपलब्ध गराइएको छ ।
कृषि मन्त्रालय र डेनमार्क सरकारको सहयोगमा ती परियोजनाको कार्य अगाडी बढाउन सहयोग सम्झौता गरिएको हो । चिया, अलैँची, अदुवा र डेरीमा मूल्य शृङ्खला विकासका लागि प्रविधि प्रवर्द्धनमा उक्त सहयोग गरिएको उन्नति समावेशी कार्यालयले जनाएको छ ।
कार्यक्रमले ५६ वटा चियासम्बन्धी परियोजनालाई २६ करोड ८० लाख ३३ हजार रुपैयाँ स्वीकृत गरेको छ । डेरीसम्बन्धी २९ वटा परियोजनालाई नौ करोड १३ लाख ६३ हजार रुपैयाँ र अलैँचीसम्बन्धी १५ वटा परियोजनालाई तीन करोड ७५ लाख ७५ हजार रुपैयाँ स्वीकृत गरेको हो । अदुवासम्बन्धी तीनवटा परियोजनालाई ६० लाख ७२ हजार रुपैयाँ स्वीकृत गरेको छ ।
चियाका २० परियोजनामा गत असार मसान्तसम्ममा चार करोड २१ लाख ५१ हजार रुपैयाँ निकासा भई काम भइरहेको छ । सो अवधिमा डेरीका आठ परियोजनामा ६८ लाख ३३ हजार रुपैयाँ, अलैँचीका चार परियोजनामा २४ लाख ३८ हजार रुपैयाँ र अदुवाका दुई परियोजनामा १२ लाख ३४ हजार रुपैयाँ निकासा गरी काम भइरहेको छ ।
उन्नति समावेशी कार्यालयका कर्मचारी शिवलाल कार्कीका अनुसार ती परियोजनाबाट १७ हजार ११८ घरधुरी लाभान्वित हुने छन् । चियाका ५६ परियोजनाबाट सात हजार ८७० घरपरिवार, डेरीका २९ परियोजनाबाट पाँच हजार ३७८, अलैँचीका १५ परियोजनाबाट दुई हजार ७३० तथा अदुवाका तीन परियोजनाबाट एक हजार १४० घरपरिवार लाभान्वित हुने छन् ।
उन्नतिले प्रत्यक्ष अनुदानअन्तर्गत २३ वटा अदुवाखेतीसम्बन्धी कार्यरत समूहलाई २१ लाख ९८ हजार रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ। उन्नति च्यालेञ्ज फण्डअन्तर्गत कृषि फार्म, सहकारी संस्था, समूह तथा गैरसरकारी संस्थाको परियोजना स्वीकृत गरी सहयोग गर्न थालिएको हो । रासस