बाढीले करोडौँको केराखेती नष्ट


दुई साताअगाडि सप्तकोशी नदीमा आएको बाढीका कारण सप्तरीको भारदहमा लगाइएको करोडौँ मूल्य बराबरको केराखेती नष्ट भएको छ ।

सप्तकोशी नदीको छेउछाउमा रहेको हनुमानगर कंकालनी नगरपालिका–१ स्थित भारदहमा लगाइएको सो केराखेती नष्ट भएको हो । करीब ५ सय बिगाहा लगाइएको केराखेती नष्ट भएको स्थानीय कृषक दिनेश राउतले बताए ।

विभिन्न नदी र खोलामा आएको बाढी र पहिरोका कारण खेतमा पानी पसेपछि यहाँ लगाइएका अधिकांश केराका बोट गलेर नष्ट भएका छन् । बाढीले भारदहको विभिन्न स्थानमा लगाइएको केरा खेतमा पानी थुनिएपछि अहिले केराको बोट सुक्न थालेको पीडित कृषक बैजु मण्डलले बताए । यहाँ एक बिगाहा जग्गामा केराखेती गर्न करीब  तीन लाख रुपैयाँभन्दा बढी खर्च हुन्छ । बाढीका कारण केराखेती नष्ट हुँदा कृषक मारमा परेका छन् ।

सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–२ जोगिनियाँस्थित कोशी पलारमा लगाएको केराखेती समेत बाढीका कारण नष्ट भएको छ । त्यहाँ चारसय बिगाहामा  केराखेती गरिएको थियो । सो क्षेत्रको अधिकांश केराखेती बाढीका कारण नष्ट भएको बताइएको छ । रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.