शैल्यशिशर नगरपालिका–१ बलाचमा निर्माणधीन चमेलिया जलविद्युत् परियोजनाका लागि बलाच–अत्तरिया १३२ केभी प्रसारण लाइनको परीक्षण अाइतबारदेखि सुरू गरिएको छ ।
बलाच–अत्तरिया १३२ केभीको प्रसारण लाइन र सवस्टेशनको परीक्षण गर्न लागिएको हो । जडान गरिएका उपकरण, १३१ किलोमिटर प्रसारण लाइन, दार्चुलाको बलाचमा रहेको मुख्य र सवस्टेशनलगायत आयोजनाका उपकरणको परीक्षण सुरू भएको आयोजना प्रमुख अजयकुमार दाहालले जानकारी दिए ।
प्रसारण लाइनको परीक्षण सुरू गर्न प्राधिकरण, कोरियाली ठेकेदार तथा परामर्शदाता, इञ्जिनियरलगायत प्राविधिकको टोलीले अत्तरियाबाट परीक्षण सुरू गरेको आयोजनाले जनाएको छ । १३१ किलोमिटर प्रसारण लाइन र सवस्टेशन, विभिन्न उपकरणको परीक्षण कार्य १५ दिनसम्म गरिनेछ ।
सुरूमा आठ अर्ब ५० करोड रुपैयाँ लगानीमा सम्पन्न गर्ने भनिएको ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको काम सम्पन्न भइसक्दासम्म १५ अर्ब ६० करोड रुपैयाँ लाग्ने अनुमान छ । हालसम्म आयोजनाको करीब १४ अर्ब ५० करोड रुपैयाँ खर्च भइसकेको छ ।
सन् २००७ देखि सञ्चालन भएको राष्ट्रिय गौरवको आयोजना तथा प्रदेश नं ७ को सबैभन्दा ठूलो आयोजनाले यसै वर्षदेखि विद्युत् उत्पादन सुरू गर्नेछ ।
सन् २०११ मा सम्पन्न हुने भनिएको आयोजनाको काम विभिन्न कारण अघि बढ्न सकेको थिएन । अबको तीन महिनामा विद्युत् उत्पादन थाल्ने गरी काम भइरहकोे आयोजनाले जनाएको छ । रासस