रमितेखोलामा ३० किलोवाटको सोलार ग्रिड निर्माण अन्तिम चरणमा


हालसम्म राष्ट्रिय प्रशारण लाइनको विद्युत् पुग्न नसकेको मोरङको मिक्लाजुङ गाउँपालिका–१ को रमितेखोलामा स्थानीयवासीलाई सोलारबाट विद्युत् उपलब्ध गराइने भएको छ ।

यसका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको अनुदान सहयोगमा ३० किलोवाटको सोलार ग्रिड निर्माण अन्तिम चरणमा पुगेको छ । जिल्ला समन्वय समिति, मोरङका ऊर्जा शाखा प्रमुख ज्ञानेन्द्र सिंहका अनुसार सोलार ग्रिड जडानको काम अन्तिम चरणमा पुगेकाले दशैंअघि नै स्थानीयवासीलाई विद्युत् उपलब्ध गराइनेछ।

मिक्लाजुङ गाउँपालिकामा मोरङ जिल्लामै पहिलोपटक मिनी सोलार ग्रिडबाट विद्युत् उत्पादन गर्न लागिएको हो । एक करोड ७० लाख रुपैयाँको लागतमा निर्माण भइरहेको सोलार ग्रिडका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ९० प्रतिशत अनुदान दिएको थियो भने बाँकी रकम जिल्ला समन्वय समिति, मिक्लाजुङ गाउँपालिका र स्थानीयवासीबाट संकलन गरिएको थियो । विद्युत् उत्पादन सुरू भएपछि सो क्षेत्रका ५० घरपरिवार लाभान्वित हुनेछन् ।

यसैगरी, सो सोलार ग्रिडबाट विद्यालयका २५ वटा कम्प्युटर, वडा कार्यालयको कम्प्युटर, प्रिन्टरलगायत सञ्चालन हुने मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले जानकारी दिए । रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.