नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको मूख्य लगानीमा निर्माण हुन लागेको ३७ मेगावाटको माथिल्लो त्रिशूली थ्री बी जलविद्युत आयोजनाको विद्युत खरीद विक्री सम्झौता (पीपीए) भएको छ ।
प्राधिकरण र आयोजनाको प्रर्वद्धक त्रिशूली जलविद्युत कम्पनीबीच बुधबार पिपिएमा हस्ताक्षर भएको हो। प्राधिकरणकातर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक मोहनप्रसाद गौतमले पिपिएमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार आयोजनाबाट सुख्खायाममा (मंसिर १६ देखि जेठ १५ सम्म) उत्पादन हुने १३४.८८ गिगावाट घण्टा र वर्षायाममा (जेष्ठ १६ देखि मंसिर १५ सम्म) उत्पादन हुने १५७.७१ गिगावाट घण्टा विद्युत नेपाल विद्युत प्राधिकरणले खरीद गर्नेछ।
पिपिए दर वर्षायाम र सुख्खायाममा प्रति यूनिट क्रमश : ४ रुपैयाँ ८० पैसा र ८ रुपैयाँ ४० पैसा रहेको छ । आयोजनाको निर्माण आगामी पुसबाट शुरू गर्ने लक्ष्य राखिएको कम्पनीका प्रबन्ध सञ्चालक गौतमले जानकारी दिए।
‘अहिले आयोजना निर्माणका लागि निर्माण व्यवसायी छनोटको काम गरिरहेका छौं’,उनले भने ‘पुसबाट काम शुरू गरी ३६ महिनाभित्रमा सक्ने लक्ष्य राखेका छौं।’ वित्तीय व्यवस्थापनका लागि नबिल बैंकको नेतृत्वमा सहवित्तीयकरणमार्फत लगानी गर्न प्रारम्भिक सम्झौता भएको उनले जानकारी दिए।
सहवित्तीयकरणमा जलविद्युत लगानी तथा विकास कम्पनी, नागरिक लगानी कोष र नेपाल बैंक रहने छन्। आयोजनामा प्राधिकरण तथा नेपाल टेलिकमको ३०/३० प्रतिशत, रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत शेयर रहने छ।
नुवाकोट र रसुवामा निर्माण हुने आयोजनामा प्राधिकरणले अहिले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशुली थ्री एको क्यास्केड आयोजना हो ।