नेपालमा पहिलोपटक सौर्य ऊर्जाबाट उत्पादित विद्युत् नेट मिटरिङ प्रणालीमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने कार्यको शुरुवात भएको छ।
नेपाल इन्जिनियर्स एशोसिएशनको पुल्चोकमा रहेको कार्यालय भवनमा परीक्षण परियोजनाका रुपमा जडित प्रणालीको आज ऊर्जामन्त्री महेन्द्रबहादुर शाही र जनसंख्या तथा वातावरणमन्त्री श्रीमती मिथिला चौधरीले संयुक्त रुपमा उद्घाटन गरे ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल इन्जिनियर्स एशोसिएशनसँगको समन्वयमा कुल ४३ लाख ४६ हजार २३० रुपैयाँमा सो प्रणाली जडान भएको हो । प्रणालीमा २६० वाट पिकको ६० वटा (१५.६ किलोवाट पिक) सौर्य पातासहितको सौर्य ऊर्जा प्रणाली जडान गरी विद्युत् उत्पादन गरिएको छ ।
यस प्रणालीबाट एशोसिएशनको कार्यालय भवनमा दिउँसोको समयमा आवश्यक पर्ने ऊर्जाको आंशिक आपूर्ति गर्ने र ब्याट्रीहरुमा ऊर्जा सञ्चय गरी र बचत भएको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा प्रवाह हुनेछ । यसरी उत्पादित विद्युत् नेट मिटरिङमार्फत नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइनमा सम्झौता भएबमोजिम जडान गरी प्रसारण लाइनमा प्रवाह गरिने कार्यक्रममा जानकारी दिइयो ।
गत असोज २० गते वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र नेपाल विद्युत् प्राधिकरणबीच वैकल्पिक ऊर्जा आयोजनाको विस्तार एवं व्यवस्थापनमा समझदारी भएको थियो ।
सो अवसरमा ऊर्जामन्त्री शाहीले ठूला जलविद्युत् आयोजना स्वदेशी पूँजीबाटै निर्माण गर्न नसकिने भएकाले सरकार विदेशी लगानी आकर्षित गर्न लागिपरेको बताए ।
उनले भने, ‘हाम्रो प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न पनि बाह्य लगानी भित्र्याउनुपर्छ, यसका लागि सरकार उपयुक्त वातावरण र लगानीको सुरक्षा दिन तयार छ ।’
जनसंख्या तथा वातावरणमन्त्री मिथिला चौधरीले नवीकरणीय ऊर्जाको माध्यमबाट कार्बन उत्सर्जन, स्थानीयस्तरमा रोजगारी र वातावरणमैत्री विकास सम्भव भएकाले सरकारले यसतर्फ जोड दिएको छ भने ।
उनले केन्द्रले यस प्रणालीको सफल कार्यान्वयन भएपछि अन्य स्थानमा समेत यस्ता प्रणाली जडान गर्ने कार्य अगाडि बढाउने बताए ।
कार्यक्रममा ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय ऊर्जामा आत्मनिर्भर हुन जलविद्युत लगायत नवीकरणीय ऊर्जाको प्रवर्द्धन गर्न आवश्यक रहेको बताए ।
जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले राष्ट्रिय ऊर्जा संकट र जलवायु परिवर्तनको नकारात्मक असर कम गर्न र दिगो वातावरणमैत्री विकासका लागि सरकारले नवीकरणीय ऊर्जामा जोड दिएके बताए ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले शहरी क्षेत्रका ठूला भवन, कार्यालयबाट छतमा सौर्य प्यानल राखी उत्पादन भएका विद्युत् र रातको समयमा खेर गएको विद्युत्लाई उपयोग गर्न सके भरपर्दो र गुणस्तरीय ऊर्जाको आपूर्ति गर्न सकिनेछ भने ।
केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले प्राधिकरणसँग भएको सहमतिअनुसार देशका अन्य ठाउँमा पनि सौर्य प्रणालीबाट ठूलो परिमाणमा विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारणमा जोड्न सकिने बताए ।
कार्यक्रमका सभापति इन्जिनियरिङ एशोसिएशनका अध्यक्ष हरेराम श्रेष्ठले नेट मिटरिङबाट उत्पादित विद्युतको महसुल कम गर्न सकिएमा व्यक्तिगत ढंगबाट पनि विद्युत् उत्पादन गर्न सकिने उल्लेख गरे । रासस