भारतीय सिमेण्टको आयातमा रोक


प्रयोगशालामा गुणस्तरीयता प्रमाणित गरेर मात्र आयात गर्न पाउने व्यवस्था गरिएपछि कैलाली भन्सार नाकाबाट चालू साउन महीनादेखि भारतीय सिमेण्टको पैठारी रोकिएको छ । सिमेण्ट पैठारी गर्दा नेपाल गुणस्तर कार्यालयको ‘ल्याब टेस्ट’को प्रतिवेदन अनिवार्य गरिएपछि नेपालमा भित्रिने गरेको भारतीय सिमेण्टको आयात साउन १ गतेबाट रोकिएको कैलाली भन्सार कार्यालयले जनाएको छ ।

नेपाल गुणस्तर कार्यालयले सिमेण्टको गुणस्तरीयताको परीक्षणपश्चात् दिने प्रतिवेदनका आधारमा मात्रै भारतीय सिमेण्टको आयात सञ्चालन हुन सक्ने भन्सार अधिकृत नारायणदत्त जोशीले बताए ।

यसअघि सम्म आइएसओको प्रमाणपत्र र ‘ल्याब टेस्ट‘का आधारमा भारतीय सिमेण्ट पैठारी हुने गरेकामा चालू आवदेखि सिमेण्ट पैठारी गर्दा नेपाल गुणस्तर कार्यालयको ल्याब टेस्टको प्रतिवेदन अनिवार्य व्यवस्था गरिएको बताइएको छ । भारतीय सिमेण्टको आयात रोकिए पनि यहाँ सिमेण्टको अभाव भने छैन । माग अनुसारको नेपाली सिमेण्ट बजारमा प्रशस्त रहेको सिमेण्ट बिक्रेता व्यापारीले बताएका छन् । यो व्यवस्थासँगै नेपालका सिमेण्ट उत्पादक कम्पनीको संरक्षणमा योगदान पुग्ने देखिएको छ । नेपाली सिमेण्टको मूल्य र गुणस्तर भारतीय सिमेण्टको तुलनामा राम्रो र सस्तो रहेकाले यसको माग पनि ह्वात्तै बढेको स्थानीय व्यापारी शंकरप्रसाद तिवारी बताउँछन्।

नेपाल सिमेण्टमा आत्मनिर्भर भइसकेकाले भारतबाट सिमेण्ट पैठारी गर्न जरुरी नरहेको तिवारीले बताए ।  यद्यपि विभिन्न भौतिक संरचना निर्माण कार्यमा संलग्न ठेकेदार र इञ्जिनियर कतिपयले भारतीय सिमेण्ट उत्पादक कम्पनी र तिनका एजेन्टसँग गर्ने गरेको मिलेमतोकै कारण निर्माण कार्यमा भारतीय सिमेण्टकै प्रयोग गर्न सिफारिस गर्ने गरेको बताइन्छ । यस क्षेत्रमा हरेक संरचनाको निर्माणमा भारतीय सिमेण्ट प्रयोग हुँदै आएकामा पछिल्लो एक दशकदेखि नेपाली सिमेण्टले बजार लिएको छ । नेपाली सिमेण्टले बजार लिन थालेपछि भारतीय सिमेण्टको प्रयोग पनि बर्षेनी घट्दै गएको छ । तर पनि गत आव ०७३/७४ मा कैलाली भन्सार नाकाबाट करीब रु २८ करोड ८५ लाख ८९ हजार मूल्य बराबरको तीन करोड १६ लाख ५२ हजार ४०० किलो भारतीय सिमेण्ट भित्रिएको भन्सार कार्यालयको तथ्याङ्कमा जनाइएको छ । रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.