व्यापार घाटा घटाउन नयाँ कार्यक्रम ल्याउने मन्त्री विश्वकर्माको प्रतिबद्धता


वाणिज्यमन्त्री मीन विश्वकर्माले आफ्नो कार्यकालमा मुलुकको व्यापार घाटा न्यूनीकरण गर्ने बताएका छन् ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री विश्वकर्माले आफ्नो कार्यकालमा मुलुकको व्यापार घाटा घटाउने गरी नयाँ कार्यक्रम ल्याउने विश्वास दिलाएका छन् । उनले भने,‘अहिले मुलुकमा १२ खर्बको बजेट छ, तर मुलुकमा अहिले १० खर्ब व्यापार घाटा छ ।’

उनले भने,‘अहिले हाम्रोे आयात १ः१३ को अनुपातमा छ, यो दुःखद् कुरा हो, मेरो छोटो कार्यकालमा म वैदेशिक व्यापार घाटा घटाउने कार्यक्रम ल्याउँछु ।’  उनले व्यापार घाटा घटाउने सजिलो उपाय भनेकै नेपालबाट निर्यात बढाउने र बाहिरबाट आयात घटाउने भएकोले यसको लागि आफू पूर्ण रुपमा लागिपर्ने बताए । उनले भने,‘स्वदेशी वस्तुहरु विदेश निर्यात गर्नको लागि म वातावरण बनाउन लागिपर्नेछु, निर्यात गर्ने वस्तुहरुको पहिचान गर्ने, आयातको आकार घटाउने गरी नयाँ कार्यक्रमहरू ल्याउँछु ।’
त्यस्तै, छिमेकी मित्र राष्ट्रद्धय भारत र चीन विश्वकै उदयीमान अर्थतन्त्र भएका मुलुकहरू नेपालका स्थायी मित्र भएको उल्लेख गर्दै भने, ‘भारत र चीन दुवैको अर्थतन्त्रले हामीलाई प्रभाव पार्छ, नेपालले त्यसबाट लाभ लिन सक्नुपर्छ ।’

नेपालको आर्थिक समृद्धिको लागि परराष्ट्र नीति तथा वाणिज्य नीति महत्वपूर्ण हुने उल्लेख गर्दै मन्त्री विश्वकर्माले भने,‘वाणिज्य कुटनीतिलाई अघि बढाएर सन्धि सम्झौता गरिन्छ ।’ उनले निर्यातजन्य वस्तुहरुको उत्पादन, प्रशोधन, बजार व्यवस्थापन र निर्यातको लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.