पाँचथरका किसानले बाली बीमाबापतको रकम भुक्तानी प्राप्त गर्न नसक्दा मर्कामा परेका छन् । असिना र हावाहुरीले तरकारी बाली नष्ट गर्दा पीडित भएका जिल्लाका तरकारी उत्पादक कृषक बीमा कम्पनीले बीमाबापतको रकम भुक्तानी नदिँदा थप पीडित भएका हुन् ।
जिल्ला कृषि विकास कार्यालयको समन्वयमा नेको इन्स्योरेन्स नामक निर्जिवन बीमा कम्पनीमार्फत लाखौँ मूल्य बराबरको बाली बीमा गराए पनि बीमा दाबी भुक्तानी नपाएको कृषकको गुनासो छ । सो कार्यालयको तथ्यांकअनुसार गत वर्ष यहाँका २८ किसानले रु ४३ लाख ७९ हजार बराबरको बाली बीमा गराएका थिए ।
जसमध्ये अधिकांश किसानले लगाएको बालीमा असिना र हावाहुरीले क्षति पुर्याएपछि बीमाबापतको रकम माग गरेको एक वर्ष बितिसक्दासम्म भुक्तानी नपाएको उनीहरुको गुनासो छ । स्थानीय याङवरक– ६ का प्रेम सिग्देल, रुद्र न्यौपाने, फिदिम– १० की शान्ती जबेगु, फिदिम– ३ का डम्बरकुमार लिम्बू, फिदिम– २ का पूर्णबहादुर मगर र फिदिम– ९ का लीलाराम आङ्देम्बले बाली बीमा गराएका थिए । बीमा गराएको बाली नष्ट भएपछि प्राविधिकले स्थलगत अध्ययन गरेर क्षतिको विवरणसहित आवश्यक कागजात पूरा गरी नेको इन्स्योरेन्समा भुक्तानी दाबी गरेको पीडितमध्येका कृषक प्रेम सिग्देलको गुनासो छ ।
गत वर्ष वैशाखमै आवश्यक कागजात पूरा गरी भुक्तानी माग गर्दा कम्पनीका कर्मचारी सम्पर्कमा आउनै नचाहेको उनको दाबी छ । लामो समयसम्म बीमा दाबी भुक्तानी नपाएपछि जिल्ला कृषि विकास कार्यालयमार्फत बीमा कम्पनीमा तागेता गर्दा पनि कम्पनीले सुनुवाई नगरेको उनीहरुको आरोप छ ।
कृषकको बीमा दाबी भुक्तानी नभएपछि आफूले इलामस्थित नेको इन्स्योरेन्स कम्पनीको कार्यालयमा गएर तागेता गर्दा त्यहाँ पुगेका फाइल भुक्तानी प्रक्रिया अगाडि नबढाइ थन्क्याएर राखेको भेटिएको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत कमलेश तिवारी बताउँछन् । बीमा दाबी भुक्तानी माग गरेको १५ महीना बित्न लाग्दासम्म कम्पनीले प्रक्रिया अगाडि नबढाएपछि कृषकको बीमाप्रतिको आकर्षण नै घट्न थालेको उनको भनाइ छ ।
यता नेको इन्स्युरेन्सको इलामस्थित शाखा प्रमुख प्रतिमा घिमिरे किसानबाट प्राप्त बीमा दाबी भुक्तानीका फाइल केन्द्रीय कार्यालयमा पठाउन ढिलाइ भएको स्वीकार्दै अब बढीमा एक हप्ताभित्रमा कृषकले रकम प्राप्त गर्ने जानकारी दिईन् । रासस