दाङमा यो वर्ष मह उत्पादन बढ्यो


दाङमा गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा वृद्धि भएको छ।

नेपाल माहुरी पालन महासंघ दाङका अध्यक्ष विष्णुराज श्रेष्ठका अनुसार गत वर्षको तुलनामा यस वर्ष एकसय टन बढी मह उत्पादन भएको छ। चरन व्यवस्थित गरेका कारण मह उत्पादनमा वृद्धि भएको हो।

महासंघका अध्यक्ष श्रेष्ठ यस वर्ष कृषकले दुई तीनपटकसम्म मह काढेको बताउँछन्। गत वर्ष अधिकांश कृषकले एकपटक मात्र मह निकालेका थिए। जिल्लामा यस वर्ष करीब ३२० टन मह उत्पादन भएको श्रेष्ठले बताए। गत वर्ष २२० टन मह उत्पादन भएको थियो।

जिल्लामा १५ हजार माहुरीको घार रहेको नेपाल माहुरी पालन महासंघ दाङले जनाएको छ भने ६५० माहुरी पालक किसान रहेका छन्। जिल्लामा उत्पादनको करीब २० प्रतिशत मात्र खपत हुन्छ। जिल्लाबाट मह काठमाडौं, पोखरा, इटहरी, बुटवल, स्याङ्जा, पाल्पा, नेपालगञ्जलगायत सहरमा विक्री गरिँदै आएको श्रेष्ठ बताउँछन्।

अहिले जिल्लामा प्रशोधित मह प्रतिकिलो  ४ सय रुपैयाँ  र प्रशोधन नगरिएको मह  ३ सय रुपैयाँदेखि  ३ सय ५० रुपैयाँसम्ममा विक्री भइरहेको महासंघले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.