सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
म मेरो कक्षाको सामाजिक शिक्षा पुस्तक पढ्दै थिए। पुस्तकमा भएका विभिन्न पाठहरूमध्ये सामाजिक समस्या र विकृति शीर्षकले मेरो ध्यान तान्यो। त्यो पाठ पढ्दा मलाई हाम्रो समाजमा भएका विभिन्न समस्याको बारेमा जानकारी भयो जुन मलाई थाहा थिएन।
मैले यहाँ हाम्रो समाजमा भएका त्यस्तै समस्याका बारेमा लेखेकी छु।
हाम्रो समाजमा विभिन्न प्रकारका मानिस हुँदा रहेछन्। कसैले असल काम गर्छन् भने कसैले नराम्रा काम गर्छन्। असल काम गर्नेहरु अरुको खुसीमा आफ्नो खुसी देख्दा रहेछन्। खराब काम गर्नेहरू अरुलाई दुःख दिन्छन् र अरुको दुःखमा आफ्नो खुसी देख्दा रहेछन्।
सबैले खुसी नै खोज्दा रहेछन्। तर खुसी पाउने तरिका फरक-फरक हुदो रहेछ। यहीँबाट नै सामाजिक समस्याहरु सुरु हुँदो रहेछ।
हाम्रो समाजमा विभिन्न जातजाति, भाषा, संस्कृतिका मानिस हुन्छन्। मानिस जुन जातको भए पनि सबै जना बराबर हुनुपर्ने हो। कोही ठूलो, कोही सानो नहुनु पर्ने हो। तर आझै पनि जातको आधारमा मानिसलाई भेदभाव गरिँदो रहेछ। सानो जात, ठूलो जात भनेर एकले अर्कोलाई हेप्ने, छोएको नखाने गर्छन् भन्दा मलाई विश्वास नै लागेन।
मलाई त मानिसहरु सबै उस्तै हुन् जस्तो लाग्छ। यो जात, थर भनेको त मानिसको परिचय मात्र हो। जस्तो हामी पोख्रेलहरू दैलेखको पोखर भन्ने ठाउँमा बसेको हुनाले पोख्रेल भएको रे। पराजुलबाट पराजुली, कोइरालीबाट कोइराला, नेपाबाट नेपाल, आदि। त्यस्तै अरु कोही कहाँ, कोही कहाँ बसेका हुनाले भिन्न-भिन्न थर भएको रहेछ। कसैको चाँहिँ कामको आधारमा पनि थर राखिएको रहेछ।
मेरो सामाजिक शिक्षा किताबमा मानिसको कसरी विकास भयो भनेर देखाउने तस्वीर छ। त्यो तस्वीरमा मैले कसैको जात, थर चिन्न सकिनँ। मानिसको उत्पति हुँदा जात, थर भन्ने केही थिएन रहेछ। यो त मानिसले पछि बनाएका रहेछन्। त्यही जातको आधारमा मानिस बिचमा भेदभाव गर्ने नराम्रो चलन बसेछ।
नेपालमा अहिले १०० भन्दा बढी जातजाति रहेछन्। यी सबैले एकअर्कामा भेदभाव गर्ने हो भने समाज कस्तो होला? यस्तो भेदभाव हटाउन सरकारले नियम कानुन पनि बनाएको रहेछ। केही समय अघिसम्म यस्तो भेदभाव निकै धेरै थियो रे। सबैको प्रयासले कम हुदै गएको रहेछ। अझै पनि यो सबै हटेको रहेनछ।
यस्तो भेदभाव हामी सबै मलेर हटाउन कोशिस गर्नुपर्छ। हाम्रो कक्षामा पनि हामी साथीहरु बिभिन्न थर र जातका छौं। सरम्यामहरू पनि फरक-फरक थर र जातको हुनुहुन्छ। मेरो टोलमा पनि विभिन्न थर र जातका परिवारहरु बस्छौं। हामीलाई त त्यस्तो फरक कहिले लागेन। भोलि पनि त्यस्तो नहोस्। रंगीबिरंगी फूलले फूलबारी सुन्दर बनाए जस्तै भिन्नभिन्न जातजाति, संस्कृतिले समाजलाई पनि सुन्दर बनाउने रहेछ। त्यसैले विभेद गर्ने होइन एकले अर्कालाई सम्मान गर्नु पर्ने रहेछ। यसले नै हामी सबैलाई खुसी राख्ने रहेछ।
मैले किताब पढ्दा हामी जस्तै उमेरका बालबालिकाहरु स्कु पनिल नगएर काम गर्छन् भन्ने थाहा पाएँ। त्यसलाई बालश्रम भनिँदो रहेछ। बालश्रम पनि सामाजिक समस्या रहेछ। मैले पनि बसमा, होटलमा साना बालबालिकाले काम गरेको देखेकी छु। बाटोमा मागेको, सामान बेचेको पनि देखेकी छु।
कति बालबालिकाहरु अरुको घरमा गएर पनि कम गर्दा रहेछन्। उनीहरुलाई देख्दा किन विद्यालय नगएर काम गरेका होलान्, पढ्न किन मन नलागेको होला, विद्यालयले पनि किन उनीहरुको बारेमा नखोजेको होला, बुवाआमाले विद्यालय किन नपठाएका होलान? जस्तो लाग्थ्यो।
पाठ पढेपछि थाहा भयो बालबालिकाहरु विभिन्न समस्याले गर्दा स्कुल जाँदा रहेनछन्। कति बालबालिकाको परिवार गरिब भएकाले अभिभावकले विद्यालय पठाउन सक्दा रहेनछन्। उनीहरुलाई खान, लगाउन पनि समस्या हुँदो रहेछ। यस्तो अवस्थामा विद्यालय जानुभन्दा काम गरेर पैसा कमाउनु उनीहरुको लागि महत्वपूर्ण हुँदो रहेछ।
विद्यालय टाढा भएर पनि पढ्न नजाने बालबालिका हुँदा रहेछन्। हाम्रो देश हिमाल-पहाडले ढाकेको छ। त्यस्तो ठाउँमा घर नजिकै विद्यालय हुँदो रहेनछ। विद्यालय नजिकै नभएपछि मन हुँदाहुदै पनि पढ्न छोडेर काममा लाग्दा रहेछन्। कतिपयको चाहिँ आमाबुबालाई पढाइको महत्व थाहा नभएर छोराछोरीलाई पढ्न नपठाई काममा लगाउँदा रहेछन्।
त्यस्तै कसैको भने बाबुआमा नभएकाले पनि आफ्नो जीवन पाल्नका लागि पनि काम गर्दा रहेछन्। मैले केही दिन अगाडि पत्रिकामा दार्चुलामा बुवाआमा नभएर विद्यालय जान नपाएका पाँच जना दिदीबहिनीको समाचार पढेकी थिएँ। कस्तो नरमाइलो लग्यो। उनीहरु भाइबहिनीको हेरचाह गर्न पालो गरेर काममा जाने र पालो गरेर विद्यालय जाने रहेछन्।
घरको वातावारणले पनि बालबालिका विद्यालय नजाने हुँदो रहेछ। घरमा आमाबाबुबीचको झगडा वा साथीहरुको संगतले पनि बालबालिकालाई असर गर्दो रहेछ। गाउँका बालबालिकालाई भने फकाएर इँटाभट्टा, घर निर्माण, होटल, बस, उद्योग, र घरमा विभिन्न काममा लगाउने गरिदो रहेछ। नेपालमा मात्र होइन विदेश पनि पुर्याउँदा रहेछन्। यसरी बालबालिकालाई बेच्ने पनि गर्दा रहेछन्। यो पढेर मलाई ज्यादै दुःख पनि लग्यो, अलि अलि डर पनि लग्यो।
तर कारण जे भए पनि पढ्ने उमेरका बालबालिकाले विद्यालय नगई काम गर्नु भनेको बाल अधिकारको हनन रहेछ। यसले उनीहरुको भविष्य बिग्रन्छ। नेपालमा पनि सरकारले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई काममा लगाउन नपाइने नियम बनाएको रहेछ। नियमको पालना नहुँदा धेरै बालबालिकाहरु विद्यालय नगई काम गर्दा रहेछन्।
आमाबुबालाई घरको काममा सघाउनु त ठिकै हो तर उनीहरुको पढ्ने, लेख्ने अधिकार खोसेर काममा लगाउनु सामाजिक समस्या रहेछ। देशको विकास गर्न बालबालिकाको अधिकार रक्षा गर्नु आवश्यक हुदो रहेछ। अहिलेका बालबालिका नै पछि देश चलाउने जिम्मेवारीमा हुने भएकाले उनीहरूको अधिकारको सुरक्षा गर्नु सरकार, समाज, परिवार, विद्यालय र हामी सबैको कर्तव्य हुने रहेछ।
पुस्तक अझै पढ्दै जादा बालबालिकामा हुने विभिन्न प्रकारका कुलतले मेरो ध्यान तान्यो। कति बालबालिकाहरु सानैबाट विभिन्न प्रकारका नराम्रो बानीमा फसेको हुदा रहेछन्। जस्तै तास खेल्ने, रक्सी-चुरोट खाने, ड्रग्स लिने, चोरी गर्ने, अरुलाई हानी पुर्याउने, झै-झगडा गर्ने जस्ता नराम्रा बानी हुँदा रहेछन्। टिभी, मोबाइल वा अन्य त्यस्ता चिजमा एकोहोरो लागिरहनु पनि कुलत नै रहेछ।
धेरै बानीहरु उनीहरुले अरुको देखेर सिक्दा रहेछन्। त्यस्तो बानीले बालबालिकाको पढ्ने, लेख्ने काममा ध्यान कम जाने रहेछ। यस्ता बानीहरु बेलैमा सुधारेन भने उनीहरु झन् ठूलो-ठूलो अपराधमा गर्ने रहेछन्। त्यसबाट बालबालिका र उनीहरुको परिवारलाई हानी हुने रहेछ। बालबालिकालाई यस्तो कुलतबाट बचाउन घरपरिवार, बिद्यालय, समाज र सरकार सबैले मिलेर काम गर्नु पर्ने रहेछ। हामी आफैं बालबालिकाले पनि कुन काम ठीक र कुन बेठिक भन्ने चिन्नुपर्छ।
एकछिन रमाइलोको लागि कुनै काम गर्नु अघि विचार पुर्याएर मात्र गर्नु पर्ने रहेछ। विचार नपुर्याइ गरेको कामले हामीलाई कुलतमा लान्छ र त्यसबाट फर्किन गाह्रो हुदो रहेछ। कुलतमा फसेका बालबालिका घरपरिवारसँग टाढा हुने, बुबाआमाले भनेको नमान्ने, रिसाउने, एक्लै बस्न मन पराउने, चोरी गर्ने जस्ता बानीहरु हुन्छन्। अभिभावकले ध्यान नदिँदा बालबालिकाहरु सजिलै कुलतमा पर्ने रहेछन्।
कुलतमा परेका ठूला मान्छेहरुले बालबालिकाहरुलाई त्यस्ता नराम्रा क्रियाकलाप गर्न फकाउँदा रहेछन्। बालबालिकालाई प्रयोग गरेर त्यस्ता समानहरू ल्याउने लाने पनि गर्दा रहेछन्।
कतिपटक म पसल जादा ससाना भाइबहिनीहरु चुरोट, खैनी, रक्सी किन्न आएको देखेकी छु। पसलेहरुले पनि बालबालिकाहरुलाई सजिलै त्यस्ता कुरा बेच्ने गर्छन्। यसले बालबालिकामा नराम्रो प्रभाव पर्ने रहेछ। बालबालिकाहरुलाई त्यस्ता हानिकारक चिजहरु किन्न पठाउनु गलत हो र बेच्नु पनि गलत हो। यस्ता क्रियाकलाप रोक्न सरकारले विभिन्न नियम बनाएको पनि रहेछ। बालबालिकालाई चुरोट, खैनी, रक्सी किन्न पठाउनु र बेच्नु दुवै अपराध रहेछ। तर त्यसको पालना नहुदा धेरै बालबालिकाहरू जोखिममा परेका छन्।
किताबमा मैले त्यस्ता अरु धेरै विकृतिहरुका बारेमा पढेँ। यसबाट मलाई समाजमा रहेका समस्या र तिनबाट बच्न गर्नुपर्ने उपायहरु पनि थाहा भयो। हाम्रो समाजलाई त्यस्ता विकृतिहरूले कुरूप र असभ्य बनाउने रहेछ। समाजलाई सभ्य र राम्रो बनाउन त्यस्ता विकृति हटाउनु पर्ने रहेछ।
यसका लागि हामी सबै सचेत हुनु पर्ने रहेछ। एकले अर्कालाई सम्मान गर्ने, नराम्रा कामहरु नगर्ने, बालबालिकाको अधिकारको सुरक्षा गर्ने, नियमहरु पालना गर्ने र नराम्रा क्रियाकलापहरु छोड्दै जनाले सभ्य समाज बनाउन सकिने रहेछ। आशा छ हाम्रो समाज पनि सभ्य हुनेछ।
(अभिप्षा पोख्रेल फ्यूचर्स स्टार्स हाइ स्कुल, जावलाखेलमा कक्षा ६ मा अध्ययनरत छिन्)