सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
लकडाउन सुरू भएको दुई महिना पूरा भयो। मेरो परीक्षा सकिएको करिब साढे दुई महिना भयो। लकडाउन सुरू भएपछि मैले मेरो अनुभवका बारेमा सेतोपाटीमा पहिलो लेख लेखिसकेकी छु।
मेरो लेखसँगै थुप्रै साथीहरूले सेतोपाटीमा लेखहरू लेखेका छन्। मलाई निकै खुसी लाग्यो। मैले पनि दुई महिना पछि यो अर्को लेख लेखेकी छु। यो लेखमा मैले गत वर्षको मेरो बेलायत भ्रमण र मैले त्यहाँ देखेको विभिन्न रमाइला कुरालाई समेटेकी छु।
मेरो मामामाइजू र उहाँको परिवार स्कटल्याण्डमा बस्नुहुन्छ। गएको तिहारमा भाइटिकाका लागि म र मेरो मामु त्यहाँ जाने अवसर मिलेको थियो। मेरो लागि यति लामो र बेलायतको विदेश यात्रा पहिलो थियो। त्यसकारण म निकै उत्सुक थिएँ। अक्टोबर २४, २०१९ मा हामी काठमाडाैंबाट कतार एयरवेजमार्फत स्कटल्याण्डका लागि उड्यौं। दोहाको ट्रान्जिटपछि हामी स्कटल्याण्डको राजधानी इडनबर्गका लागि प्रस्थान गर्यौं।
मेरो मामामाइजू र दिदीले हामीलाई एयरपोर्टमा लिन आउनुभयो। जब एयरपोर्टबाट बाहिर निस्केपछि त्यहाँको चिसो हावाले मेरो अनुहार छोयो, मलाई लाग्यो यो निकै चिसो समयको यात्रा हुनेछ। तर जब म घरभित्र पुगेँ त्यो निकै न्यानो थियो।
मैले सोचेँ, नेपालमा पनि यस्तै किन छैन होला? त्यहाँ पुगेको दोस्रो दिन हामी सबै परिवार सेन्ट एन्ड्रड्युजको समुद्री किनारमा पुग्यौं। जहाँ राजपरिवारका सदस्यहरू उच्च शिक्षाका लागि जाने गर्दा रहेछन्। यो समुद्री यात्र मेरो लागि सोचेभन्दा रमाइलो भयो। म समुद्र नभएको देशबाट गएको जाे थिएँ।
समुद्रका छालहरू देखेर मलाई निकै आनन्द लाग्यो। हामी तिहारको लागि सपिङसहित रेष्टुरेन्टमा खाना खाएर घर फर्कियौं। अर्को दिन भाइटिकाको दिन थियो। हामीले नेपालमा जस्तै सेलरोटी पकाएर, टिका लगाएर रमाइलो गरी मनायौं।
अन्ततः त्यसपछिको दोस्रो दिन मेरो मन पर्ने ठाउँ र मैले पर्खेको इडनबर्ग दरवार एडिनबर्ग क्यासल पुग्यौ। ज्वालामुखीबाट निस्केको ठूलो चट्टानमाथि बनाइएको त्यो दरबार निकै सुरक्षित र सुन्दर देखिन्थ्यो। त्यसबेलाको राजाहरूले आफ्नो सुरक्षाको लागि बनाएको यो दरबारमा कैदीहरू राख्ने ठाउँदेखि राजपरिवारको लागि पार्टी र मिटिङ गर्ने हल समेत रहेछ। ३/४ घण्टा घुमिसकेपछि मैले त्यो ऐतिहासिक दरबारमा फोटो खिचेर सबैसँगै घर फर्कियौं।
३१ अक्टोबरमा बेलायतमा मनाइने हलोइनमा पनि डरलाग्दो फेस पेन्टिङ गरेर दिदीबहिनीहरूसँगै हामीले रमाइलो गर्यौं। चकलेटहरू सँगै हामी खुसी भयौं। त्यसैगरी त्यहाँका विभिन्न पार्क र रमाइला स्थान घुमेपछि हामी एकदिन बिहान स्कटल्याण्डबाट मामासँगै लन्डनका लागि प्रस्थान गर्यौं। सात आठ घण्टाको यात्रापछि हामी लन्डन पुग्यौं र आफन्तको घरमा बस्यौं। मैले स्कटल्याण्डबाट लन्डन आउँदा त्यहाँको फराकिलो र सुन्दर बाटोहरू देख्ने अवसर पाएँ। त्यो दिन आराम गरेपछि अर्को दिनबाट हामीले लन्डनको घुमाइ सुरू गर्यौं।
संसारभरका मान्छेहरूले हेर्न चाहने टावर ब्रिज, लन्डन आई, थेम्स नदी, बकिङगम प्यालेस र ट्राफलगर स्क्वायर घुमिसकेपछि बल्ल मैले टेलिभिजनमा सधैं देखेको लन्डनलाई नजिकबाट घुम्ने मौका पाएँ। त्यसैगरी, अर्को दिन हामी ग्रिनबिच पार्क गयौं। पृथ्वीको पूर्वपश्चिमलाई आधाआधा भागमा बाड्ने त्यस पार्कबाट संसारमा जिएमटी समय सुरू भएको र त्यहाँ राखिएको घडीबाट समयको सुरूवात भएको मैले जानकारी पाएँ। त्यहाँ पनि फोटोहरू खिचेपछि हामी बाकीँ रहेकाे २/३ दिन लन्डनका अन्य ठाउँ घुम्यौं। करिब १५ दिन बिताएपछि मैले त्यहाँको सरसफाई, त्यहाँको खानपान, लन्डनको मेट्राे र सपिङ मलहरूलाई नजिकबाट थाहा पाएँ।
संसारको सुन्दर देश रमाइलो घुमफिरपछि हिथ्रो एयरपोर्ट हुँदै दोहा भएर हामी काठमाडाैं फर्कियौं। नेपाल आएपछि मैले सोचिरहन्थेँ, यति सफा यस्तो हाइजेनिक र शुद्ध खानेकुरा खाने मान्छेलाई सायद कुनै पनि रोग लाग्दैन होला।
म नेपाल आएको केही समयपछि चीनको वुहानबाट कोभिड १९ (काेराेना) सुरू भयो। संसारका प्रायः सबै देशमा फैलिएको कोरोनाबाट नेपालमा पनि मानिसहरू संक्रमित भए र केहीले ज्यान गुमाए। अनि मैले समाचारबाट थाहा पाएँ बेलायतमा पनि कोरानाका कारण हजारौं मानिसको मृत्यु भयो। अझ त्यहाँ त प्रधानमन्त्री र राजकुमारसमेत संक्रमित भए। त्यसैले, रोग जुनसुकै देशमा पनि फैलिन सक्छ भन्ने कुरा मैले बुझेँ र भिडभाडमा नजाने र सरसफाइमा ध्यान दिँदै स्कुलले संचालन गरेको अनलाइन कक्षामा पढेर बसेकी छु।
रोगले ठूलो, सानो, धनी, गरिब कसैलाई पनि नछाड्ने हुँदा म मेरा सबै साथीलाई सुरक्षित रहन अनुरोध गर्छु। आशा छ कोरोना हराएपछि हामी फेरि स्कुलमा रमाइलो गरी भेट्ने छौं। अझ धेरै कुरा सेयर गर्नेछौं।
(ईरा ज्ञवाली सेन्टमेरिज स्कुल जावलाखेल, ललितपुरमा कक्षा ७ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com