जिल्ला कारागार कैलालीमा लागुऔषधको ओसारपोसारमा संलग्न रहेको आरोप लागेपछि एक प्रहरी हवल्दार पक्राउ परेका छन्।
लागुऔषध कारोबार संलग्न एक आरोपीले दिएको बयानका आधारमा प्रहरी हवल्दार पनि पक्राउ परेका हुन्।
गत असोज ३१ गते धनगढी–७ बाट प्रहरीले १३ ग्राम लागुऔषधसहित कैलारी गाउँपालिका–६ वन कटुवाका ३३ वर्षीय यादवकुमार चौधरीलाई पक्राउ गरेको थियो।
पक्राउ गरेर उनीमाथि अनुसन्धान अगाडि बढाइएको थियो। सोही क्रममा चौधरीले कैलाली कारागारमा कार्यरत प्रहरी सहायक हवल्दार अपिल भाट पनि लागुऔषध ओसार-पोसारमा संलग्न रहेको बयान दिएका थिए।
त्यसपछि सहायक हवल्दार भाटलाई निलम्बन गरिएको थियो।
हाल उनीमाथि लागुऔषध मुद्दा चलाएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।