बुटवलको मोतीपुर औद्योगिक क्षेत्र आसपासबाट ठूलो मात्रामा पेट्रोल बम तथा घरेलु हतियार फेला परेको प्रहरीले दाबी गरेको छ।
औद्योगिक क्षेत्रको जग्गा खाली गराउने विषयमा गत आइतबार उक्त स्थानमा जग्गा कब्जा गरिबसेको समूह र सुरक्षाकर्मीबीच झडप भएको थियो।
झडपको क्रममा प्रहरीको गोली लागि जग्गा कब्जा गरिबसेका ४ जना सर्वसाधारणको मृत्यु भएको थियो भने उक्त समूहको आक्रमणमा परी ५० जनाभन्दा बढी सुरक्षाकर्मी घाइते छन्।
दोहोरो झडपपछि औद्योगिक क्षेत्रको जग्गा आफ्नो नियन्त्रणमा लिएका सुरक्षाकर्मीले उक्त स्थानमा खोजी गर्दा दर्जनौंको संख्यामा पेट्रोल बम बरामद गरेको हो।
झडपको क्रममा जग्गा कब्जा गरिबसेको समूहले सुरक्षाकर्मीमाथि ढुंगामुढासँगै पेट्रोल बम समेत प्रहार गरेको थियो। पेट्रोल बमबाट सशस्त्र प्रहरी नं. २७ गणका सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीलगायत एक दर्जन बढी प्रहरी घाइते भएका थिए।
जग्गा कब्जा गरिबसेकाले उक्त स्थानमा पेट्रोल बम लुकाएको हुनसक्ने आशंकामा सर्च अभियान संचालन गर्दा खर र झाडीभित्र लुकाएको अवस्थामा पेट्रोल बम फेला परेको सशस्त्र प्रहरी नायब उपरीक्षक निराकार शुक्लाले जानकारी दिए।
बियर र मदिराका बोतलभित्र पेट्रोल भरीसुतली जोडेर राखेको अवस्थामा ती बोतल फेला परेको शुक्लाले जानकारी दिए।
ती बोतलभित्र पेट्रोलसहित फुटेका शिशा, फलामका टुक्रा र फुटेका काँचका चुरा समेत राखिएको भेटिएको छ।
हजारौंको संख्यामा आएकाहरूले चारैतिर कब्जा गरिबसेकोले सबै क्षेत्रमा पेट्रोल बम राखिएको हुनसक्ने भन्दै खोजी भइरहेको सशस्त्र प्रहरीले बताएको छ।
गत वैशाख महिनादेखि देशका विभिन्न जिल्लाबाट सुकुम्बासीको नाममा आएका व्यक्तिहरूले औद्योगिक क्षेत्रको जग्गा कब्जा गरी बसेपछि स्थानीय प्रशासनले गत आइतबार उक्त क्षेत्र खाली गराउँदा दोहोरो झडप भएको थियो।
अहिले उक्त क्षेत्रमा रूपन्देहीको सँगै नवलपरासी र कपिलवस्तुको समेत सशस्त्र र दंगा प्रहरीले आफ्नो नियन्त्रणमा राखेको जनाएको छ।