ललितपुर जिल्ला ललितपुर महानगरपालिकाले आयोजना गरेको ‘महिलाका लागि महिला’ विषयक सात दिने कार्यक्रम सम्पन्न भएको छ।
महिलालाई उद्यमशील बनाउने उद्देश्यले साउन १० गतेबाट ललितपुर महानगरपालिकाले कार्यक्रम सञ्चालन गरेको थियो।
जावलाखेलमा एक हप्तासम्म सञ्चालित कार्यक्रममा कार्यक्रममा महिलाहरूलाई उद्यमशीलताबारे जानकारी दिइएको थियो। महिलाहरूलाई उद्यमशीलतातर्फ सक्षम बनाउन र महिलाद्वारा उत्पादित कुनै पनि उत्पादनको बजारीकरण गर्न सहजीकरण गर्नेमा कार्यक्रम केन्द्रित थियो।
कार्यक्रम संयोजक निशा श्रेष्ठका अनुसार महिलाहरूको सशक्तिकरणका लागि, आयस्तरमा वृद्धिका लागि उद्यम गरिरहेका महिलालाई थप हौसला प्रदान गरिएको थियो।
साथै, उद्यम गर्न चाहने महिलाहरूलाई सहजीकरण गर्न र व्यावसायिक ढंगले काम गरिरहेका उद्यमीहरूलाई पनि एकै छातामुनि ल्याउने कार्यक्रमको उद्देश्य रहेको थियो।
अब महिला आफ्नो समूह बनाएर उद्यममा क्रियाशील हुनेछन्। उनीहरूका लागि महिला समूहमार्फत् आयआर्जन, आर्थिक तथा सामाजिक सहयोग र सिपमूलक तालिमलगायतका कार्यक्रम ल्याइने छ।
‘हिजो आफ्नो घरको हिसाब-किताब गर्न नसक्ने महिलाहरू आज विभिन्न महिला समूह खोलेर ६०/७० जनाको समूहलाई व्यवस्थापन गर्न सक्षम भएका छन्, जसको आधार महिलाका लागि महिला सञ्जाल हो,’ श्रेष्ठले भनिन्, ‘यसले महिला सशक्तिकरणमा जोड दिएको छ।’