अर्घाखाँची शितगंगा नगरपालिकामा बाबुले आफ्नी दुई वर्षीय छोरीको हत्या गरेका छन्। वडा नम्बर २ सीतापुर झिर्राका २४ वर्षीय सन्तोष घिमिरेले मंगलबार दिउँसो छोरी सृष्टिको हत्या गरेका हुन्।
नाइलनको डोरीले घाँटी कसेर छोरीको हत्यापछि घिमिरे इलाका प्रहरी कार्यालय ठाडामा पुगेका थिए।
‘दिउँसो १ बजेतिरको घटना हो, छोरीको हत्या गरेँ भनी उनी इलाका प्रहरी कार्यालय ठाडामा आइपुगेका थिए,’ अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले भने।
सन्तोषले छोरीको हत्या गर्दा उनका बुवाआमा थिएनन्। श्रीमती बाँकेस्थित माइतीमा बस्दै आएकी छिन्।
करिब डेढ महिनाअघि सन्तोषले आमासँगै मावल बसिरहेकी छोरीलाई घर ल्याएका थिए।
बुढाथोकीका अनुसार श्रीमान-श्रीमतीबीच सम्बन्ध बिग्रेकाले श्रीमती माइती बस्दै आएकी थिइन्।
‘श्रीमान-श्रीमतीबीच विवादका कारण हत्या गरेको हो कि भन्ने आशंका छ,’ बुढाथोकीले भने।
हत्या गर्नुपर्ने कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। घिमिरेलाई हिरासतमा लिएर प्रहरीले अनुसन्धान थालेको छ।
मृतक नाबालिकाको शव कानुनी रित पुर्याई मुचुल्का उठाएर पोस्टमार्टमका लागि पठाइएको बुढाथोकीले बताए।