घोराहीमा नेपालकै सबैभन्दा ठूलो बायो ग्यासप्लान्ट निर्माण सुरू भएको छ। जैविक फोहरबाट मिथेन ग्यास सिलिण्डर र कम्पोष्ट मल उत्पादन गर्ने गरी भौतिक निर्माणको कार्य सुरू भएको हो।
घोराही उपमहानगरपालिकाको वडा नं. १६ करौंती डाँडा (गरुवा गाउँ)मा रहेको ल्यान्डफिल्डसाइटमा फोहोरबाट ग्यास र मल उत्पादन गर्न भौतिक पूर्वाधार निर्माणको काम भइरहेको छ।
बायो ग्यासप्लाण्ट निर्माणको काम नेपाल ऊर्जा विकास कम्पनी प्रा.लि. (नेको) काठमाडौंले गर्दै आएको छ। त्यसपूर्व वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले उक्त कार्यको लागि टेन्डर आह्वान गरेको थियो।
टेन्डरमा अरु कसैको पनि निवेदन नपरेपछि नेको बायो ग्यासप्लाण्ट निर्माणको लागि छनोटमा परेको थियो। त्यसपछि नेकोसँग २०७५ साल मंसिर ५ गते एक वर्षभित्रै काम सक्ने गरी त्रिपक्षीय सम्झौता भएको थियो। घोराही उपमहानगरपालिका, वैकल्पिक ऊर्जा केन्द्र र नेपाल ऊर्जा विकास कम्पनीबीचको त्रिपक्षीय सहकार्यमा फोहोरबाट ग्यास उत्पादन गर्न धमाधम भौतिक पूर्वाधार निर्माणको काम भइरहेको छ।
फोहरबाट ग्यास र मल उत्पादन गर्ने प्रस्तावसहित तत्कालीन घोराही नगरपालिकाले विश्व बैंकसँग् प्रस्ताव गरेको थियो। घोराही नगरको प्रस्तावमा विश्व बैंकले साढे ४ करोड अनुदान दिने सहमति जनाएपछि फोहरबाट ग्यास निर्माण गर्ने प्रक्रियाले मूर्तरुप पाउन थालेको हो। घोराही उपमहानगरपालिकाका वातावरण अधिकृत उमेश शर्माका अनुसार बायो ग्यासप्लान्ट स्थापना गर्न तथा प्राङ्गारिक मल उत्पादन गर्नको लागि आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार र उपकरण खरिद गर्न झन्डै २० करोड लगनी लाग्ने अनुमान गरिएको बताए।
घोराही उपमाहानगरपालिका र ग्यासप्लान्ट निर्माणको जिम्मा पाएको नेपाल ऊर्जा विकास कम्पनी (नेको) काठमाडौंबीचमा भएको सम्झौता अनुसार २० वर्षसम्म प्लाण्टबाट हुने सम्पूर्ण लाभ एकलौटी रुपमा नेकोले नै लिने पाउने छ। त्यस्तै, सम्झौतामा नेपाल ऊर्जा विकास कम्पनी (नेको)ले घोराही उपमहानगरपालिकालाई वार्षिक ८ लाख कर राजश्वबापत बुझाउनु पर्ने कुरा उल्लेख छ।
२० वर्षपछि ग्यास प्लान्टलगायत त्यहाँ निर्मित सम्पूर्ण भौतिक पूर्वाधार चालू अवस्थामै उपमहानगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने सम्झौतामा उल्लेख रहेको उपमहानगरपालिकाका डिभिजनल ईन्जिनियर युवराज पौडेलले जानकारी दिए। सम्झौतामा एक वर्षभित्र काम सिध्याउने तथा ग्यास र मल उत्पादनको प्रक्रिया थालनी गर्ने उल्लेख छ।
नेपाल ऊर्जा विकास कम्पनी प्रा.लि.का प्रोजेक्ट म्यानेजर हरिशरण श्रेष्ठले उपमहानगरपालिकाको बायो ग्यासप्लान्ट निर्माणको लागि कम्पनीलाई उपलब्ध गराएको साढे दुुई बिगाहा जग्गामा रहेका रुखका कारण काममा केही ढिलाइ हुन गएको बताए। प्लाण्ट निर्माणाधीन क्षेत्रमा रहेका रुख काट्न वन कार्यालयसँग अनुमति लिनुपर्ने भएकाले काममा केही बिलम्व भएको श्रेष्ठले बताए। प्लान्ट निर्माणाधीन क्षेत्रमा ठूला ११० र साना ५२९ वटा रुख काट्नु परेको निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर श्रेष्ठले जानकारी दिए।
ग्यासप्लान्ट स्थापना गर्न चार वटा खाडल (डोम) निर्माण गरिएका छन्। मुख्य ग्यास उत्पादन हुने डोम २६ मिटर गोलाकार घेराको छ। बाँकी रहेको मिक्सिङ ट्याङ्की, बढी भएको पानी निस्कने पानी ट्याङ्की र ग्यास भएर लेदो (मल) निस्कने ट्याङ्की भने समान ६÷६ मिटर गोलाकारको निर्माण गरिएको छ।
सबैभन्दा ठूलो डोमको वरिपरि आठ मिटर अग्लो पर्खाल र त्यसको माथि छानो लगाइने छ। त्यस्तै, अन्य सबै डोमहरूको वरिपरि ३–३ मिटरको मात्रै पर्खाल लगाउने भए पनि त्यसमाथि छानो भने नलाग्ने श्रेष्ठले जानकारी दिए। अन्य अफिस तथा प्यरेफिकेसन यूनिट (शुद्धिकरण) केन्द्र, ग्यास सिलिण्डर भर्नेदेखि कम्पोष्ट मल उत्पादन गर्नका लागि डोमहरूको संरचना तयार भइरहेको छ।
श्रेष्ठका अनुसार बायो ग्यासप्लान्ट २ हजार घन मिटरको छ। यसले दैनिक ५० सिलिन्डर ग्यास र दैनिक ७ हजार केजी कम्पोष्ट मल उत्पादन गर्ने क्षमता राख्ने उनले बताए। त्यसका लागि दैनिक २० टन फोहर आवश्यक हुने श्रेष्ठले बताए।
घोराही उपमहानगरपालिकाका वातावरण अधिकृत उमेश शर्माले हाल घोराहीमा दैनिक ६ टन जतिमात्रै जैविक फोहर उत्पादन हुने गरेको बताए। त्यो भनेको प्लान्टलाई आवश्यक पर्ने १८ प्रतिशत मात्रै हो। नगरका १९ सबै वडाबाट फोहर संकलन गर्न सक्ने हो भने दैनिक २५ देखि ३५ टन सम्म जैविक फोहर प्राप्त हुने शर्माले बताए।
ग्यास प्लान्ट निर्माण हुनुभन्दा पहिला गरिएको सर्वे रिपोर्टले त्यो आँकडा देखाएकोले प्लान्टका लागि आवश्यक फोहरको अभाव नहुने उनले बताए।
नगरले कुहिने र नकुहिने वस्तु छुट्टाछुट्टै संकलन गर्न सुरु गरेको तथा निकट भविष्यमै सबै वडामा छुट्टाछुट्टै डष्टविनहरू राखिने शर्माले बताए।
प्लान्ट सम्भव भएपछि एलपी ग्यास भन्दा प्रतिसिलिण्डर २ देखि ३ सयसम्म सस्तोमा ग्यास पाइने दाबी गरिएको छ। मिथेन ग्यासको तापक्रम एलपी ग्यासको भन्दा अलि बढी हुनाले बढी टिकाउ हुने श्रेष्ठको तर्क छ।