प्रदेश २ को नामकरणका लागि मतदान सुरू भएको छ।
प्रदेशको स्थायी राजधानी टुंगो लागेपछि 'मधेस प्रदेश' नामका लागि अहिले मतदान जारी छ।
विशेष संसदीय समितिले नामका लागि ‘मधेस प्रदेश’, ‘मिथिला भोजपुरा प्रदेश’, ‘जानकी प्रदेश’ र ‘मध्य मधेस प्रदेश’ नाम प्रस्ताव गरेको छ।
त्यसमध्ये पहिलो प्रस्ताव मधेस प्रदेशमा मतदान भइरहेको छ। सो प्रस्ताव पारित हुन प्रदेश सभाको कुल १०४ सदस्यमध्ये ६८ जनाको मत आवश्यक छ।
सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रको संयुक्त प्रस्ताव ‘मधेस प्रदेश’ मा प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले समर्थन गरेको छ।
‘मधेस’ नामको प्रस्तावकमा जसपाका प्रमुख सचेतक शैलेन्द्रकुमार यादव र माओवादी केन्द्रका संसदीय दलका नेता तथा आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साह छन्। वविता कुमारी, रानी कुमारी तिवारी, सावित्री देवी साह, जगत प्रसाद यादव र दिलीप साहले सो प्रस्तावको समर्थन गरेका छन्।