प्रदेश २ का प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री जितेन्द्र सोनलले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पक्षमा सनाखत गरेका छन्।
सोमबार जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी उनले लोसपा रोजेका हुन्।
योसँगै प्रदेश २ मा लोसपामा सनाखत गरेका सांसदहरूको संख्या १६ पुगेको छ। यद्यपि सभामुख सरोज कुमार यादव समेत आफूहरूतिरै रहेकाले लोसपाका १७ जना प्रदेशसभा सदस्य रहेको प्रदेशसभा सदस्य सोनलले दाबी गरे।
यसअघि अभिराम शर्मा, रानी शर्मा तिवारी, उपेन्द्र महतो, परमेश्वर साह, जयनुल राइन, गौरी नरायण साह, सुरिता साह, निलम भूमिहारनी, रमेश कुर्मी, बाबुलाल साह, अल्का कुमारी झा, बबिताकुमारी चौधरी, जानकी शरण साह, डिम्पल झा र प्रह्लाद गिरीले लोसपामा सनाखत गरेका थिए। जसपाका ५५ जना सांसद थिए। जसमध्ये ३० जना प्रदेशसभा सदस्य पूर्वसंघीय समाजवादी पार्टीका थिए भने २५ जना पूर्व राष्ट्रिय जनता पार्टीका थिए। पूर्वसमाजवादी पार्टीबाट लोसपा रोज्ने प्रह्लाद गिरि एक्ला सांसद हुन्।
१०३ सदस्यीय प्रदेशसभामा लोसपा तेस्रो ठूलो दल बनेको छ। लोसपाका सांसद परमेश्वर साहले जसपाबाट आफूहरू छुटिसकेकाले लालबाबु राउत नेतृत्वको प्रदेश सरकारलाई समर्थन नरहेको बताएका छन्।
पूर्व जसपाका प्रमुख सचेतक समेत रहेका साहले भने,‘दल विभाजित भइसकेपछि हामी छुट्टै दलका भइसक्यौं। सरकारलाई हाम्रो समर्थन छैन।’
चाँडै प्रदेशसभामा रहेको लोसपाका सांसदहरूको सूची निर्वाचन आयोगमा बुझाउने र प्रदेशसभाले मान्यता दिइसकेपछि दलको विधान बमोजिम संसदीय दल गठन गर्ने उनले बताए।
प्रदेशसभामा जसपाका ३८, नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादी पार्टीका १३, नेकपा एमालेका ८, नेकपा माओवादी केन्द्रका ७ र नेपाल संघीय समाजवादी पार्टीका १ जना प्रदेशसभा सदस्यीय छन्।