नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली कांग्रेस तरुण दलको हैसियतमा पुग्ने जोखिम आफूले देखिरहेको बताएका छन्। उनले कांग्रेस पार्टी त्यस्तो अवस्थामा नपुगोस् भनेका छन्।
‘सभापतिजी अहिले पनि भनिरहनुभएको छ कि १६ भदौमा महाधिवेशन उद्घाटन होस् भनेर,’ उनले भने, ‘म त्यो सम्भावना देख्दिनँ।’
शनिबार नेपाली कांग्रेस सिन्धुपाल्चोक कार्यसमितिले राजधानीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै कोइरालाले यस्तो बताएका हुन्।
वडा, क्षेत्रलगायत अरू सबै चुनावहरू नभएको अवस्थामा १६ भदौमा महाधिवेशन उद्घाटन गर्नु भन्नु तरुण दलको महाधिवेशनजस्तो हुने उनले बताए।
‘तरुण दलको पनि महाधिवेशन उहाँले उद्घाटन गर्नुभयो, तर आज तरुण दल तीन जनामा सीमित भएको छ,’ कोइरालाले भने, ‘म झस्किरहेको छु, कारण यो छ कि नेपाली कांग्रेसको अवस्था पनि त्यस्तो त हुँदैन? त्यो नहोस्।’
कोइरालाले महाधिवेशन हुन वडाबाट क्षेत्रीय अधिवेशन हुँदै प्रतिनिधि चयन हुनुपर्ने बताए। त्यो नभएको अवस्थामा महाधिवेशन सम्भव नहुने बताए।
‘सभापतिजी पनि हुन्छ भन्नुहुन्छ, वरिष्ट नेता पनि त्यसै भन्नुहुन्छ, उहाँहरूले भनेपछि हामीजस्ताले विश्वास गर्नुपरंछ, तर म सम्भव देख्दिन, अरू तरिकाबाट अघि बढ्नुपर्छ।’
उनले त्यस्तो प्रक्रिया गरेर दसैं-तिहारभित्र महाधिवेशन सम्पन्न गर्नका लागि पनि भदौ १६ लाई चाहिँ गम्भीर रूपमै लिनुपर्ने बताए। उनले १६ गते कुनै न कुनै प्रक्रिया सुरू गरेर निर्वाचन आयोगलाई चिठी लेख्नुपर्ने बताए।
‘हामीले प्रक्रिया सुरू गरेर निर्वाचन आयोगमा चिठी लेख्नुपर्छ। यहाँ पुगेर अन्त्य हुन्छ भनेर भन्नुपर्छ। उहाँहरूले विचार गरिदिनुहुन्छ। संविधानत: गर्नैपर्ने हुन्छ। संविधानलाई ऐन कानुनले काट्न सक्दैन भन्ने बुझ्नपर्छ। नेपाली कांग्रेस पुरानो पार्टी भएका काणले प्रक्रिया सुरू गरेपछि निर्वाचन आयोगले सकजीकरण गरिदिन सक्छ,’ कोइरालाले भने।
तर, पहिलेको जस्तो महाधिवेशनका लागि समय माग्ने कुरा नेपाली कांग्रेसका लागि सुहाउँदो विषय नरहेको बताए।
‘हामीले अघिल्लोपटक पनि त्यसै गरेका छौ, पटक-पटक यसरी गर्दाखेरी नेपाली कांग्रेसको जुन डेमोक्रेटिक क्रिडेन्सियल छ, राम्रो गर्दैन,’ उनले भने।
कोइरालाले अहिले राजनीतिक दलका मुद्दा सर्वोच्च अदालतमा परिरहेको भन्दै कुनै कारणवश कसैले कांग्रेसको विरूद्धमा पनि मुद्दा हालिदिन सक्ने जोखिम रहेको बताए। ‘कसैले मुद्दा हालिदियो भने र न्यायाधीशले निर्णय गरिदिनुभयो भने नेपाली कांग्रेसको भविष्य के हन्छ?,’ कोइरालाले भने।