लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफू कारबाहीमा परिने डरले प्रचण्डले अख्तियार लगायतका संवैधानिक निकायमा नियुक्ती गर्न नदिएको आरोप लगाएका छन्।
बुटवलमा मंगलबार युवासंघ नेपालको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दैै नेकपा ओली पक्षका नेता समेत रहेका पोखरेलले अख्तियार खाली राख्ने प्रचण्डको नियत प्रधानमन्त्री केपी ओलीले चकनाचुर पारिदिएको र अब अख्तियार पूर्णरुपमा क्रियाशिल हुने दाबी गरे।
प्रचण्डका कारण रोकिएका संवैधानिक निकायका नियुक्ति प्रधानमन्त्री ओलीले गरिसकेको र अब सबै निकायले काम गर्न थालेको उनको भनाइ थियो। मुख्यमन्त्री पोखरेलले नेपालको गुमेको भूभाग समेटेर चुच्चे नक्सा सार्वजनिक भएपछि नै प्रधानमन्त्रीमाथि घेराबन्दी गरिएको बताए।
अहिलेको संकट चुच्चे नक्साकै कारणले भएकाले प्रधानमन्त्रीको पक्षमा उभिनु नै राष्ट्रियताको पक्षमा उभिनु भएको पोखरेलले उल्लेख गरे।
नेकपाका केन्द्रीय सदस्य एवं युवा ईन्चार्ज महेश बस्नेतले प्रधानमन्त्री युवापुस्ताको पक्षमा रहेको उल्लेख गर्दै पार्टीमा बहस चलेका बेला महाधिवेसनपछि आफू नदोहोरिने र चुनावपछि प्रधानमन्त्री नबन्ने बाचा गर्नुले केपी ओली नयाँ पुस्ताको पक्षमा रहेको जिकिर गरे।
उनले प्रचण्ड–नेपाल सहितका केही नेताले पदको स्वार्थका कारण सिंगो पार्टी तहसनहस बनाएको आरोप लगाए।
उक्त सभा अगाडि राष्ट्रिय युवासंघ नेपाल लुम्बिनीले बुटवलमा मोटरसाइकल ¥याली प्रदर्शन गरेको थियो।