नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खम्बसिंह कुँवरको निधनले पार्टीलाई ठूलो असर पुगेको बताएका छन्।
आफूलाई सदस्यता दिने खम्बसिंह कुँवर'काजी बा'लाई श्रद्धाञ्जली दिन आइपुगेका प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई हाँक्न सदैव प्रेरणा दिने अग्रजको निधनले पार्टीलाई क्षति पुगेको बताए।
'मैले काजी साहेबसँग सदस्यता लिएको मात्रै होइन त्यसपछि पनि निरन्तर मलाई अघि बढाउन उहाँको ठूलो योगदान छ, कम्युनिष्ट आन्दोलनमा पनि, आफ्नै अभिभावकको रूपमा पनि,' उनले भने, 'म उहाँकै कारण यो ठाउँसम्म आइपुगेको हुँ।'
गोरखाको आरुघाटमा पढाउने क्रममा २०३३ सालमा प्रचण्डले कुँवरबाट चौथो महाधिवेशन समूहको सदस्यता लिएका थिए। यद्यपि उनले २०२८ सालमै पुष्पलाल समूहको सदस्यता लिएका थिए।
उनले नेपालको कम्युनिष्ट र राजनीतिक आन्दोलनमा गम्भीर धक्का लागेको अवस्थामा कुँवरको अवसानले थप पीडा दिएको उनले बताए।
हाल देखिएको नेपाली कम्युनिष्ट आन्दोलनको घातक प्रवृत्ति, प्रतिगमन, प्रतिक्रान्ति प्रवृत्तिविरूद्ध अझ शक्तिका साथ बढ्ने प्रेरणा कुँवरबाट प्राप्त हुने उनले बताए।
उनले शोकलाई शक्तिमा बदलेर प्रतिगमनविरूद्ध लड्ने बताए।
'पार्टी एकताका लागि उहाँहरू जस्तो अभिभावकहरूको ठूलो प्रेरणा हामीलाई थियो, अहिले जुन अवस्था देखिएको छ यसको सामना गर्नका लागि पनि उहाँहरूले हिजो दिएको शिक्षा, योगदान, त्याग, तपस्या सधैं नै प्रेरणाकोरूपमा हामीलाई प्राप्त हुनेछ,' उनले भने।
पुराना वामपन्थी नेता कुँवरको ९५ वर्षको उमेरमा मंगलबार बिहान ८ः४५ बजे भरतपुर अस्पतालमा उनको निधन भएको हो। लामो समयदेखि प्रोस्टेटको समस्या झेल्दै आएका कुँवरलाई एक हप्ताअघि भरतपुर अस्पतालमा भर्ना गरेर उपचार गरिएको थियो।
वि.सं. २०११ देखि कम्युनिष्ट पार्टीमा लागेका कुँवरले २०२२ सालमा आफ्नै नेतृत्वमा चितवनमा प्रगतिशिल पार्टीको सुरूआत गरेका थिए। पछिल्लो पटक उनी नेकपाको केन्द्रीय सल्लाहकार भएका थिए।