१. रहरहरू
यी अबोध नजर तिम्रो एक झल्को
पाउनलाई
मायाको गहिराइ नाप्दै
पौडिनलाई अत्यन्त व्याकुल छन् प्रिय !
यी हेर त, ओठहरू मुस्कुराएर निर्धक्क
तिमीलाई स्वागत गर्न कति आतुर छन् !
साँच्चिकै प्रेमले बाहुपसमा बेर्न
अचम्मै उत्ताउलो भएका छन् ।
म भित्र मुटुमा भिजेको तिम्रो मायाका
साथ गम्भीर शान्त सागरर्झै भए पनि
कतिबेला तुफान बनि उर्लिन्छन् छालहरू
मायाको लागि विद्रोह गर्छन्
तिम्रै यादमा बेचैन हुँदै
तिमीलाई आफूमै समाहित गरेर लैजान्छन्
र बन्दी बनाउछन् के पत्तो ?
मेरो अँगालोले तिमीलाई बन्दी बनाउनु अघि
हृदयमा मायाको सागर उर्लनु अघि
तिम्रो मौनतालाई चिर्न विद्रोहको
तुफान आउनु अघि
रहरहरू नउत्ताउलिँदै
मेरो हृदयको इजलासमा
विधिवत् फिरादपत्र दर्ता गरी
फैसला हुनु अगावै आत्मसमर्पण गर्नु प्रिय !
स्वागत गर्नेछु म
हृदयमा सजाएर प्रेमका मालाहरूमा
शुभ घडा रङ्गीन फूलले भरेर
नयन तिमी आउने बाटोमा बिच्छ्याउँदै
तिम्रै प्रेमालापको प्रतीक्षामा ।।
२. नाथे भोक
खै किन दिएको हो, कसले दिएको
कसरी लाग्छ, कताबाट लाग्छ
त्यो पनि थाहा हुँदैन र त
चालै नपाई बदनाम गराउँछ
प्रारब्धदेखि वर्तमानसम्म रिँगाएको छ
सोचलाई शून्यमा धकलेर
नैतिकता बिर्साएको छ
अनि आफैँलाई बिर्साएको छ
नाथे भोकले ।
बैँसको लुलो लहरा समाउँदै
भोगको लालसा जगाएर
वासनाको उच्छ्वास जाहेर गर्छ
अन्त्यहीन उन्माद त कति हो कति !
न दुई पाइला अगाडि देख्छ
न त उच्छ्रिएको विगत नै
क्षणभरलाई सन्तुष्टिको राग ओकल्छ
र त आफैँलाई बिर्साइदिन्छ
नाथे भोक ।
मनमा भावको उद्वेग उमालिदिन्छ
तृष्णालाई अतृप्त यात्री बनाएर
आवेग र आक्रोशको भुमरीमा धकेल्छ
संवेग र मर्यादाका बारहरू भत्काउन
बाध्य बनाउँछ र
आफू हुनुकै सीमा भत्काउँछ
नाथे भोक ।
म चक्कर खान्छु
नाथे अनगिन्ती भोकहरू देखेर
साँच्चिकै संक्रमणमा धकेलेको छ
वासनाको भोक,
सम्पतिको भोक,
मान प्रतिष्ठाको भोक
स्वार्थको भोक
भोक पनि कति थरीका !
साँच्चिकै निरीह जीवन गुजारेको छ मान्छे
म कसरी तुलना गरूँ यी भोकहरूबीच
जसले उमेर भन्दैन, आफन्त भन्दैन
विद्वान् भन्दैन, बन्धु गन्दैन,
न त मित्रताको ख्याल राख्छ
न पदीय मर्यादा राख्छ
केही कुत्सित मनोकांक्षा पुरा गर्न
स्वयं आफैँलाई बिर्सन्छ
र सीमा नाघ्छ पत्तै नदिई नाथे भोक ।
हे ईश्वर !
भो मलाई यस्तो भोक नदेऊ
जसले मेरो, म हुनुको औचित्य नै मेटिदिन्छ
अर्काको मानमा आँच पु¥याउँछ
हृदय चोइट्याउँछ
आमाको दुधको मूल्य मेटाउँछ
दोस्राको प्रतिष्ठा गिराउँछ
आफू र आफ्नाको सात पुस्ता पिराउँछ
त्यसैले भो मलाई यस्तो भोक नदेऊ
बित्थाको नाथे भोक।।
३. बिसर्जन
प्रत्येक घडी विसर्जन भैरहेछ
महायज्ञको पूजा फूलपाती अक्षतासँगै
भक्तका त्याग र तपस्या ।
होमकुण्डमा होमिएका चरुहरूबाट
धुवा कतै माथि माथि विलीन हुँदै छ
पुजारीका स्वाहाको आवाज
कतै साँच्चिकै स्वाहा भएको छ
भक्ति र आराधनाको
र भक्तहरूका सपनासँगै ।
अब कुनै पुण्यकर्मको फलको
आस कसरी गर्नु ?
दक्षको महायज्ञको होमकुण्डमा
शुम्भ निशुम्भ निर्बाध रमाइरहेका छन्
पुजाको फलको प्राप्तिमा खुसीले
निमग्न डुडुल्नो निल्दैछन्
भक्तहरूको
फल आफैँ कुम्ल्याइरहेका छन्
र विजयको उद्घोष गर्दै
नाचिरहेछन् नाङ्गा मुर्कट्टाहरूको नाच ।
साँच्चिकै विसर्जन भैरहेछ महायज्ञ
भक्तको भक्ति र तपस्या
नवदुर्गाको आगमनको आसमा
भक्तहरू चुपचाप बाटो हेरिरहेछन्
संहार गर्नु छ शुम्भ निशुम्भहरुको
माँ दुर्गे फेरि रचिदेऊ लीला
माँ फेरि रचिदेऊ लीला ।