मध्य पुसको एउटा बिहान। कुहिरो भर्खर फाटेको स्पटिक नीलो आकाश, उत्तरतिर टल्किएको श्वेत हिमाली क्यान्भास। मेरो स्टिलको कपबाट उडिरहेको ज्वानो, चियापति, चिनी र सुकमेलको मिक्स्ड गन्ध अनि घामतिर मुख फर्काएर उभिरहेको म।
यो बतासेडाँडा हो। म घरबाट कम्तिमा १६० किमी टाढा छु। बेला बेला बेगले दौडने चिसो बतास नजिकैको सुन्तलाका र सल्लाका बोटहरुका पातहरु जोडजोडले हल्लाइरहेको छ र म यो पर्यावरणको मजा लिइरहेको छु।
म यो चेन ब्रेक गर्न प्लेलिस्टमा जान्छु र विटल्सको कुनै गीत बजाउछु। आहा! कस्तो ब्लेन्ड, क्या बेजोड बिहान। पर्यावरणको, मौसमको, बिहानको र मेरो यो संगम एकैचोटि भताभुंग पार्न एउटा आवाज मेरो कानमा ठोक्किन्छ 'सुरज, ल रेडी हौ।'
ऊ अरु कोही नभएर मेरो कलिग सौरभ हो। हामी केही दिनदेखि काममा छौँ, त्यो पनि फिल्डको काम। गत एक महिनाभन्दा बढी समयदेखि हामी हरेक दिन फरक फरक मान्छेलाई भेटिरहेछौँ, उनीहरुबाट संकलन गर्नु पर्ने केही विवरणहरू संकलन गरिरहेछौँ, आफूले जानेका कृषि र भेटेरिनरी सम्बन्धित कुराहरु सिकिरहेका छौँ र सबैभन्दा बढी त नयाँ मान्छेहरुसँग हरदिन परिचित भइरहेका छौँ।
तानसेनदेखि केहीमाथि बतासेडाँडा भन्ने ठाँउ छ। जब तानसेन हुँदै कोही बतासेडाँडा भएर माथि लाग्छ, विस्तारै बस्ती पातलो हुन थाल्छ। एउटा मुस्लिम गाउँपछि त केही बेरलाई सन्नाटा छाउँछ।
धुल्लामे सडक, घनघोर वन, बेला बेला डाँडाले छेक्ने हिमाली क्यान्भास, फाट्टफुट्ट पसलहरु, सल्लाका अग्ला कुँदिएको जस्तो लाग्ने रुखहरु छिचोल्दै हरथोक छोडेर अझै माथि लागिन्छ। आउँछ, अर्को बतासेडाँडा जुन डाँडा आमरुपले चिनिने पाल्पाको बतासेडाँडाभन्दा भिन्न हो।
बतासेडाँडाको एउटा होटलमा हामी विगत एक हप्तादेखि छौँ। हर बिहान हामी १० बजे निस्किन्छौँ र करिब ५ बजे बेलुका फर्किन्छौँ। दिनचर्या यही हो, एउटा रमाइलो तर दुर्गम अनुभूति।
यहाँ मास्क कसैले लगाउँदैनन्। मास्क लगाएको देखेपछि एकछिन घोरिएर मान्छेहरु मुखमा हेर्छन्। सौरभ मलाई बाइकबाटै साउती गर्छ, 'मास्क खोल यार।'
हामी पल्सर १५० मा धुलाम्मे बाटो दौडिरहेका छौँ, बेलाबेला देखा पर्ने सुन्तलाको बगानहरु र एकदमै सुनसान बाटो अक्सर हाम्रो ट्राभल टकका मुख्य कन्टेन्ट भइरहेका छन्। आज हामी नयाँ ठाँउ जानु छ 'घैयाडाँडा'।
बाइक साइड लगाएर सौरभले सोमरडाँडाको स्कुलको पसलमा सोध्छ, 'दिदी, घैयाडाँडा जाने बाटो कता हो?' एउटा अधवैँशे युवती हाम्रो नजिकै आउँछे, अनि साउती गरेजसरी सोध्छे 'हजुरहरुले त्यहाँ कसलाई भेट्नु पर्ने हो र?' असमन्जस्य उसको यो जेसरले मेरो सात्तो उड्छ।
'त्याहाँको दाइदिदीहरुको विवरण लिनु थियो।'
'तल्लो जातहरुको मात्रै लिनुपर्ने हो विवरण?'
एकछिन हाम्रो कामको प्रकार, र ढाँचा बुझाएपछि दिदी विश्वस्त हुन्छिन् र बाटो देखाइदिन्छिन्।
सौरभ र म ओरालो लाग्छौँ, बाइक रोक्छौँ र वनैवन छिचोलेर पुग्छौँ घैयाडाँडा।
खिया लागेका टिनका पुराना छाना, रातो माटो, खरका घारीहरु, एकदम पातलो बस्ती, एउटा चौर र एउटा चौतारी। वश घैया डाँडा यही हो। हामी घुम्दा घुम्दै पुग्छौँ एउटा घर। कुराकानी गर्न दुईजना पुरुष र महिला दुई जना चाहिने बारे हामीले त्यही घरकी महिलालाई बताउछौँ।
छिटको गुन्यू, एउटा मैलो बर्को, आँखाको अलिकति तल झुण्डिरहेका चिप्राहरु अनि टम्म मिलेका दाँत। उसको यो आवरण एकचोटि जोडले चिच्याउछ 'बाबु तल झर्नु रे, यहाँ सरहरु आउनु भएको छ।'
ऊ जब बेपर्वाही भएर चिच्याइ, मैले उसका नीलो र खैरो मिश्रित उसका आँखाहरु नियाल्न पुगे। उमेरले २६-१७, दुईवटा रुदै फकिदै गरेका बच्चाहरु, नमिलेको बान्कि अनि अजीव आँखाहरु। स्ट्रङ ब्ल्याक कफी लिइसकेपछि मिल्ने एउटा फरक किकजस्तो म घोरिराखेँ।
सौरभ मेरो कानमा आएर चिच्यायो 'ह्या मुला, कहाँ हराको? ल उहाँसँग कुरा गर मुला।' सौरभले आज दिनभरिमै मेरो ध्यान दुईचोटि भंग गर्यो, मनमनै एक झापड कसेर हान्दै भन्नु मन थियो 'फिल्डमा हुँदा बोल्ने तमिज छैन तिम्रो!'
तर यस्को सट्टा 'हुन्छ' को इशारा मात्रै गरेर जवाफ फर्काएँ।
म बोल्दै गएँ। उसको व्यक्तिगत विवरण, परिवारिक स्थित, खेतीपाती, सामाजिक संलग्नता जस्ता विविध पक्षमा गफ भइसकेपछि थाहा पाएँ, उसको नाम इन्द्रेणी विक रहेछ। अब आउने प्रश्न गर्दा म अलि चिल्लो भएर बोल्छु 'अनि इन्द्रेणी भाउजू, दाइ इन्डिया गएको कति वर्ष भयो?'
उसका आँखाहरुमा एउटा सन्नटा छाउछ, बिग्रिएको केश झन् गुजमुज भएजस्तो लाग्छ अनि अनुहार एकदम बिग्रेजस्तो।
'४ वर्ष।'
मेरो मनमा नचाहिने प्रश्नहरु नाच्न थाल्छन्।
'तपाईं कतिको सम्झनु हुन्छ दाइलाई?'
'तपाईंका यौवन रंगीन रहरहरु कसरी दबेर अनुशासित हुन सक्छन्?'
'कहिलेकाहीँ मन भड्किदैन तपाईंको?'
'तपाईं मेरै उमेरको पुरुषसँग योभन्दा अघि कहिले बोल्नु भएको थियो?'
'तपाईंलाई नयाँ आफ्नै उमेरको पुरुषहरुसँग बोल्दा कतिको सहज महशुस हुन्छ?'
म आफ्नै कपोलकल्पित प्रश्नहरुको ढड्डामा चुर्लुम्म डुब्छु।
'सुरज, जाउँ यार यहाँ त ढाइ घण्टा बसियो यार।'
सौरभको यसपालीको चिच्याइप्रति मलाई रिस उठेन।
मलाई यस्तो लाग्यो, उसको चिच्याइले मेरो पोखिएको मनलाई फेरि आफ्नै स्वरुपमा ल्याइदियो।
जानुअघि म थाहा नपाउने गरी इन्द्रेणी भाउजूका अजीव आँखाहरु नियालेँ 'कसले राख्यो होला यी आँखालाई सुहाउने नाम, इन्द्रेणी!'
सौरभ फोनमा बोल्दै मेरो अघि हिडिरहेछ, म पछि पछि इन्द्रेणी भाउजूका आँखाहरुलाई अझै प्रश्न गर्दै छु, मनमनै।
चौरमा पुगेपछि, सुन्तलाको एक केस्रा मलाई दिँदै भन्छ 'मन पर्यो कि क्या हो त्यो दिदी, मलाई त लास्टै मन पर्यो यार।'
म हाँस्छु मात्र। सौरभ र मबीच अनेक विचार विमर्श हुन्छ।
'हाम्रो समाजले यौनिक इच्छाहरुलाई साँच्ची बुझ्छ?'
'जवान महिला र पुरुष धेरै समय छुटिँदा यौनिक कुण्ठाहरु कसरी पोख्लान्?'
'इन्द्रेणी भाउजूको पोइलाई उनका अजीव आँखामा झल्किने रंगीन रहरहरु कतिको याद आउँदो हो?'
'जवानी र यौवनका लोकगीतहरु घन्किने नेपाली डाँडापाखाहरुले २० वर्षे विधवाले फेरि बिहे नगरोस् किन चाहन्छ?'
'४० कटेसी रमाउला भन्ने गीत रच्ने गायकले गीतको सार्थकता बोध गर्छन् होला कहिलेकाहीँ कि ४० पछि साँच्चिकै यौवन फुलाउन सकिन्छ कि नाइ भनेर!'
'सुरज, नम्बर मागिदेउँ?'
'यस्तो कुरा नगर, गाउँलेले लखेट्लान्।'
'लखेट्लान्, किन?'
'मलाई यउटी युवती कामुक लाग्यो भन्ने मेरो महशुसका खातिर?'
ओहो, हामी कुरा गर्दा गर्दै आदि दर्जन सुन्तला सक्छौँ। हाम्रो गुपचुप कुरा छिचोल्दै एउटा आवाज आउँछ- 'बाबुहरु अझै यहीँ हुनुहुन्छ? जाम हाम्रोमा खाना खान।'
'इन्द्रेणी भाउजू!'
नाइँको इशारा गरेर भाउजू पारि पुग्दासम्म म भाउजूको मैलो गुन्यू, पुरानो चोली, उनको नितम्ब नियालिरहन्छु।