काठमाडौं महानगरले स्वाब संकलनका लागि मोवाइल भ्यान सञ्चालनमा ल्याएको छ।
महानगरबासी अशक्त, अपाङ्गता भएका, दीर्घ रोगी र जेष्ठ नागरिकको घरमै गएर स्वाब संकलन गरिने महानगरका मेयर विद्या शुन्दर शाक्यले जानकारी दिए।
‘अशक्त, अपाङ्गता भएका, दीर्घ रोगी र जेष्ठ नागरिकलगायत जो विभिन्न कारण चाहेर पनि घर बाहिर निस्केर स्वाब संकलन गर्ने ठाउँसम्म आउन सक्दैनन् उनीहरुलाई लक्षित गरी यो कार्य अघि बढाएका हौँ,’ उनले भने ‘नेपाल सरकारले तोकेको मापदण्डभित्र रहेका नागरिकको निःशुल्क परीक्षण गर्न महानगर तयार छ।’
लक्षित वर्गलाई उपचारबाट बञ्चित नगराउन र सकेसम्म असहाय, विपन्न र जेष्ठ नागरिकलाई प्राथमिकता दिन सक्नेले आफै परीक्षण गर्न शाक्यले अनुरोध गरे।
महानगरले उपलब्ध गराएको सवारी साधनमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले ‘पोजेटिभ एअर प्रेसर मेन्टेन्ड’ कक्ष जडान गरेर महानगरलाई हस्तान्तरण गरेपछि भ्यान सञ्चालनमा आएको हो।
यो भ्यान महानगरपालिकाको सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागले सञ्चालन गर्नेछ।
सवारीमा जडान भएको कक्षमा बसेर १ पटकमा २ जनाको स्वाब लिन सकिनेछ। हरेकको स्बाव लिइसकेर कक्षमा भएको स्वीच थिचेपछि स्बाव लिइएको ठाउँ स्वचालित रुपमा निसंक्रमण हुने महानगरले जनाएको छ।
यसमा जसको स्वाब लिइएको उसैले 'भिटिएम आइस बक्स'मा राख्नुपर्ने नास्टका बरिष्ठ प्राबिधिक अधिकृत डा. शंकर ढकालले बताए।
‘स्वास्थ्यकर्मीलाई पिपिई लगाउँदा हुने झन्झट नहोस् भनेर यो कक्षको निर्माण गरिएको हो। यसअघि संकट व्यवस्थापन केन्द्र, नेपाल प्रहरीलगायतका संघ संस्थाका लागि यस्तै प्रकारको प्रणाली उपलब्ध गराइसकेका छौं,’ उनले भने।
यो वुथ निर्माण गर्न महानगरले ३ लाख २० हजार ६ सय रुपैयाँ उपलब्ध गराएको थियो। सर्वसाधरणको लागि यो सेवा भोलिबाट सुरु हुने महानगरले जनाएको छ।
कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचार कार्यलाई अझ बढी प्रभावकारी बनाउन महानगरपालिकाले मोवाइल भ्यानमार्फत स्वाब संकलन सुरु गरेको नगर प्रमुख शाक्यले बताए।
यो सेवा प्रयोग गर्न नगरबासीले स्थानीय जनप्रतिनिधी सगँ सम्पर्क गर्न सक्नेछन्।