चालू आर्थिक वर्षको पहिलो तीन महिनामा गएका चार वर्ष यताकै सबैभन्दा न्यून पूँजीगत खर्च भएको छ।आर्थिक वर्ष २०७३/७४ पछिकै न्यून खर्च यो वर्ष भएको हो।
अर्थमन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार यो वर्षको तीन महिनामा १५ अर्ब ५ करोड रुपैयाँ मात्र खर्च भएको छ। २०७४ मा १० अर्ब ६६ करोड खर्च भएको थियो। त्यसपछिका वर्षको पहिलो त्रैमासमा भएका खर्चमध्ये यो न्यून हो।
पछिल्लो समय बजेट निष्काशन तथा ठेक्का प्रक्रियामा सहज गरिएकाले वर्षको सुरुदेखि नै पूँजीगत खर्च बढ्ने अपेक्षा गरिएको भएपनि परीमाण देखिएको छैन।
यो वर्ष कोरोना महामारीका कारण विकास निर्माणको काम प्रभावित भएका कारण खर्च पनि खर्च प्रभावित भएको मन्त्रालयले बताएको छ। मन्त्रायले प्रकाशित गरेको आर्थिक बुलेटिनमा खर्च तथा आम्दानी प्रभावित भएको उल्लेख गरिएको छ।
पूँजीगत खर्च पछिल्ला चार वर्षकै न्यून भएपनि चालू खर्च भने निरन्तर बढिरहेको छ। २०७४ को पहिलो तीन महिनामा १ खर्ब १७ अर्ब खर्च गरेको सरकारले यो वर्ष १ खर्ब ८२ अर्ब खर्चिएको छ।
खर्चको ठूलो हिस्सा चालू शिर्षकमा खासै फरक नपरेकाले कुल सरकारी खर्चमा भने गिरावट आएको छैन। यो वर्षको तीन महिनामा सरकारले २ खर्ब १ अर्ब रुपैयाँ खर्च गरेको छ।
राजश्व संकलन अघिल्लो वर्षको तुलनामा ३ प्रतिशतले घटेको छ भने यो वर्ष असोजसम्मको लक्ष्यको ९८ प्रतिशत संकलन भएको छ।